काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ६.०३ अंकले उकालो लाग्दै २६५४.९३ विन्दुमा पुगेर बन्द भएको हो।
आज कुल ३३५ वटा कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर किनबेच भएका छन्। दिनभरिमा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको छ।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये १३७ वटाको सेयर मूल्य वृद्धि भएको छ भने ११८ वटाको घटेको छ। ७ कम्पनीको मूल्य यथावत् रहेको छ।
आज सबैभन्दा बढी नाफा कमाउने कम्पनी सालपा विकास बैंक रह्यो, जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्टा ५८४.५० रुपैयाँ पुगेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको ६ प्रतिशतले वृद्धि भएको छ।
समूहगत परिसूचकतर्फ होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहमा गिरावट देखिएको छ भने अन्य समूहहरूमा वृद्धि भएको छ। निर्जीवन बीमा समूह सबैभन्दा बढी १.०६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख रुपैयाँ र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


