काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म संघीय सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा जम्मा १९.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएकोमा फागुन मसान्तसम्म ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ४७.१८ प्रतिशत मात्रै खर्च भएको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार चालू खर्चतर्फ ५४.३७ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ५४.८९ प्रतिशत खर्च भएको छ । तर विकाससँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने निकै न्यून देखिएको हो ।
राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको करिब आधा रकम उठेको छ । फागुन मसान्तसम्म ७ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ अर्थात् ४९.८९ प्रतिशत राजस्व संकलन भएको छ । कर राजस्वमा ५१.४ प्रतिशत र गैरकर राजस्वमा ४५.७८ प्रतिशत असुली भएको कार्यालयले जनाएको छ ।
यस्तै वैदेशिक अनुदान प्राप्ति पनि अपेक्षाकृत न्यून रहेको छ । चालू आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यको २४.७८ प्रतिशत मात्र वैदेशिक अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


