images
images

चार डीआईजीको सरुवा, मधेशमा ओम अधिकारी र सुदूरपश्चिममा सानुराम भट्टराई


  • 158
    SHARES
  • २०८३ जेठ ३० गते शनिबार

    चार डीआईजीको सरुवा, मधेशमा ओम अधिकारी र सुदूरपश्चिममा सानुराम भट्टराई

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका हुन् ।

    सरुवा अनुसार डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाइएको छ भने डीआईजी ओमप्रसाद अधिकारीलाई मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी ओमबहादुर रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार मधेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत डीआईजीहरूलाई कार्यसम्पादन तथा संगठनभित्र देखिएका विभिन्न विषयलाई ध्यानमा राखेर काठमाडौं तानिएको हो ।

    मधेश प्रदेशमा पछिल्लो समय प्रहरी संगठनभित्र समन्वय र कार्यसम्पादनसँग सम्बन्धित विवादहरू देखिएका थिए । आर्थिक लेनदेनसँग जोडिएका विवादका क्रममा धनुषा र सप्तरीका जिल्ला प्रहरी प्रमुखले स्वेच्छिक सरुवा मागेका थिए भने रौतहट र बाराका प्रहरी प्रमुखसँगको असमझदारीका कारण स्पष्टीकरणसमेत सोधिएको थियो ।

    यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी राना कमजोर कार्यसम्पादनका कारण त्यहाँबाट सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन डीआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।


    images

    Logo