काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच ६ बुँदे सहमति भएको छ ।
शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका दुवै मृतकको शव परिवारले बुझ्ने सहमति भएको छ ।
बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो। सहमतिसँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गरिने जनाइएको छ ।
सम्झौताअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
त्यस्तै, २०८३ साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ ।
सम्झौतामा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने उल्लेख छ ।
यस्तै, प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति भएको छ ।
त्यसैगरी, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
सम्झौतामा मृतकद्वयको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने पनि उल्लेख छ ।
सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र मृतक जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् ।


