images
images

दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय युवा पक्राउ


  • 169
    SHARES
  • २०८३ कार्तिक १३ गते शुक्रबार

    दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय युवा पक्राउ

    काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार यादवले ‘बाइनान्स’ एपमार्फत क्रिप्टोकरेन्सीको कारोबार गर्नुका साथै अनलाइन सट्टेबाजी (बेटिङ) गराउने गरेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरीले निगरानी र प्राविधिक विश्लेषण गर्दा उनको बाइनान्स आइडीमार्फत ठूलो रकमको कारोबार भएको खुलेको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यादवले २ करोड ६९ लाख ८१ हजार ३८८ अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको छ । प्रति अमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाका दरले उक्त रकम नेपाली रुपैयाँ दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबर हुन आउँछ ।

    यादवलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


    images
    images

    Logo