भक्तपुर । यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख हेम कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा ६० करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
त्यस्तै, कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ अर्ब २६ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले बताए । गत आर्थिक वर्षको कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारी साधन करतर्फबाट प्राप्त भएको देखिन्छ ।
कार्यालयको विवरणअनुसार गत आर्थिक वर्षमा सवारी साधन करतर्फ २ अर्ब ६ करोड १३ लाख ८८ हजार २९६ रुपैयाँ सङ्कलन भएको थियो । त्यस्तै, सवारी इजाजत दस्तुरबाट ११ करोड ४१ लाख ६४ हजार २७० रुपैयाँ, यातायात सेवाको आयबाट ५ करोड ८१ लाख ३३ हजार ८० रुपैयाँ र आयकरबाट २ करोड ६८ लाख ४५ हजार ३५४ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
गत आर्थिक वर्षको कुल राजस्वमा सवारी साधन करतर्फको योगदान सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ६० करोडभन्दा बढी राजस्व सङ्कलन हुनुले यातायात क्षेत्रबाट सरकारलाई प्राप्त हुने आम्दानीमा कार्यालयको उल्लेख्य योगदान रहेको देखाउँछ ।



