झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।
कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । सो कारागारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला रहेको खत्रीले बताए ।
प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था रहेको कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् ।
एक सय २२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ । झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा लागुऔषधसम्बन्धी मुद्दाका छन् ।
कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् । त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् ।
हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी भइरहेको छ । कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि तयारी थालिएको खत्रीले बताए ।
विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्याइएको हो ।



