images
images

शेयर बजार र अनमोल हिरा


  • 930
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    शेयर बजार र अनमोल हिरा

    काठमाडौं । धादिङ घर भएका एक युवा आजभन्दा करिब १६ वर्ष अघि काठमाडौं आएका थिए । गाउँबाट एसएलसी पास गरेर काठमाडौं आएका उनले  काठमाडौं आएलगत्तै पढाइका अतिरिक्त आफ्नै सानो स्टेशनरी सामग्रीको व्यवसाय पनि सुरु गरे । थोरै–थोरै गरी करिब ४ वर्षमा १० लाख हाराहारीमा रकम पनि जम्मा गरेका थिए । मासिक ३०–४० हजार रुपैयाँसम्म कमाई हुन्थ्यो । 

    पढाई बढ्दै जाँदा परिपक्वता र कमाईका कारण महत्वाकांक्षा पनि बढ्दै गयो । करिब २० लाख लगानी गरेर किताब तथा स्टेशनरीकै कारोबार गर्ने एउटा सप्लायर्स कम्पनी खोल्ने सोच उनमा आयो । गाउँबाट सहकारी संस्था र केही व्यक्तिसँग थप १० लाखजति ऋण लिए । कम्पनी दर्ताको प्रक्रिया चल्दै थियो, एकाएक उनले एकजना शेयर कारोबारी आफन्तलाई भेटे ।

    छोटो समयमै करिब ५ लाखको लगानीबाट २० लाख कमाएको रमाइलो किस्सासमेत सुने । किस्सामात्रै थिएन त्यो, सत्यता थियो । ती आफन्तले ती युवालाई पनि शेयरमा लगानी गरेर मालामाल हुने प्रस्ताव गरे । आफूले राम्रोसँग नजानेको क्षेत्रमा लगानी गर्ने वा नगर्ने बारेमा निकै गम्भीर भए तर मन मान्दै मानेन । आफूले ४ वर्षमा कमाएको भन्दा बढी रकम आफूजस्तै साधारण व्यक्तिले १ वर्षमै कमाइसकेका थिए भने आफू किन मालामाल नबन्ने ? उनले त्यही निष्कर्ष निकाले र बजारमा प्रवेश गर्ने निर्णय गरे । 

    निर्णय गर्नु र प्रवेश गर्नु निकै फरक विषय थियो । सबै ज्ञान आफूले तत्कालै लिइहाल्न सम्भव पनि थिएन । उनी आफन्तकै भरमा परे र अल्पकालीन लगानीका रुपमा २० लाख लगानी गर्ने अख्तियारी आफन्तलाई दिए । पहिलो किस्तास्वरुप करिब ५ लाख लगानी भयो, त्यसले छोटो समयमै केही प्रतिफल पनि दिलायो, आकर्षण झनै बढ्यो । पटक–पटक गरी ती आफन्तले २० लाख रुपैयाँ पूरै लगानी गरे । नयाँ व्यवसाय सुरु गर्ने समय ६–८ महिनालाई पछि सर्यो । 

    तर समयले एक्कासी कोल्टे फेरिदियो । दैवी वा प्राकृतिक विपत्ति त केही आएको थिएन तर मानवीय विपत्ति आईदियो । बजार एकाएक घट्न थाल्यो । बढ्दाको रफ्तारमा मात्रै घटेन बजार, चार गुणा बढीको वेगमा आया्े । ती युवा कुरिरहे, ६ महिना बित्यो, नयाँ काम सुरु गर्ने उनको चाहना पनि मर्यो, पोर्टफोलियो पनि करिब आधामा झर्यो । आधाबाटै भएनि आफ्नो योजनाअनुसारको काम त गर्न सकिन्थ्यो तर एक्कासी आएको पोर्टफोलियोको गिरावटले एकाएक डिप्रेसनको भावना छायो । भएको शेयर बेचेर खोजेको जति पैसा तिरे र वैदेशिक रोजगारीका लागि दुबई भासिए । 

    ती लगानीकर्ता काल्पनिक होइन, प्रतिनिधि लगानीकर्ता हुन्, जसको प्रतिनिधित्व भावी बजारमा निकै बाक्लो हुने सम्भावना रहेको छ । शेयर बजारमा लगानी गरेर मालामाल भएकाहरुको सूची एकातिर निकै लामो छ भने सोही बजारमा अन्धाधुन्ध लगानी गरेर डिप्रेसनमा गएका, घरबारविहीन भएका एवं आत्महत्या गरेकाहरुको सूची त्यो भन्दा निकै लामो छ । 

    अहिले शेयरबजारले दिनदिनै अलटाइम हाई रेकडै कायम गरिरहेको छ । नेप्से परिसूचक र हरेक समूहका सूचक बिन्दुहरु बढेको बढ्यै छन् । २०७७ वैशाख १ मा कुल बजार पुँजीकरण १४ खर्ब ७३ अर्ब रहेकोमा त्यसको १ वर्षमा कुल बजार पुँजीकरण बढेर ३७ अर्ब ५८ अर्ब पुगिसकेको छ । यो वृद्धि भनेको १३४ प्रतिशतभन्दा बढीको वृद्धि हो । त्यसपछिको १ महिनामात्रै कुल बजार पुँजीकरण ७० अर्ब बढेर ३८ खर्ब २८ अर्ब पुगिसकेको छ । आखिर कसरी बढ्यो त बजार पुँजीकरण ? कहाँबाट थपियो पैसा ? चालु आवमा आईपीओमार्फत् बजारमा सूचीकरण भएका कम्पनी ३४ अर्ब बराबरको मात्रै छ भने त्यसमा पनि १५ अर्ब मध्यभोटेकोशीको शेयर सूचीकरण समेत भएको छैन । यसैगरी हकप्रदमार्फत् चालु आवमा करिब ३० अर्बको स्वीकृति पाएको देखिएको छ । 

    नेप्सेमा सूचीकृत विभिन्न समूहमध्ये चालु आवको १० महिनाको अवधिमा खासगरी ट्रेडिङ समूह र हाइड्रोपावर समूहले मारेका छन्  भने त्यसबाहेकका सीमित कम्पनीहरुले बाजी मारेका छन् । २०७७ वैशाख मसान्तसम्म नेप्सेको ट्रेडिङ समूहको बजार पुँजीकरण ४ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा २०७७ चैतमसान्तमा पुग्दा सो पुँजीकरणमा ४२४ प्रतिशत वृद्धि भई २२ अर्ब ९२ करोड पुगेको छ । यस्तै, हाइड्रोपावर समूहको पुँजीकरणमा सोही अवधिमा २२७ प्रतिशतको वृद्धि भएको छ । 

    रोचक पक्ष त झनै के छ भने २०७५ को चैत मसान्तसम्ममा कुल बजार पुँजीकरण १४ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा त्यसमा सेन्सेटिभको हिस्सा १२ अर्ब ४१ अर्ब अर्थात् करिब ८५ प्रतिशत रहेकोमा २०७७ को चैत मसान्तमा आईपुग्दा कुल बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब रहेकोमा त्यसमा सेन्सेटिभ इन्डेक्सको हिस्सा १४ खर्ब ४४ अर्ब अर्थात् ३८ प्रतिशत मात्रै रहेको छ । सेन्सेटिभ इन्डेक्सलाई नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये केही शर्त राखी ती शर्त पूरा गरेका एवं लगानी गर्नका लागि योग्य पनि छानिएका कम्पनीहरुको सूचकका रुपमा लिने गरिन्छ । यही तथ्याङ्कले देखाउँछ कि हालको नेपालको शेयर बजार कुन दिशातिर अघि बढिरहेको छ । 

    पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको मूल्यमा तीव्र रूपमा वृद्धि भइरहेको छ । केही नगण्य कम्पनीलाई छाडेर हेर्ने हो भने हरेक कम्पनीको २०० प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको छ भने केहीले ४०० प्रतिशतसम्म कमाइसकेका छन् । लगानीकर्ताका लागि यो पनि सोचनीय विषय बनेको छ । मतलब यो होइन कि हाइड्रोपावर समूहका शेयर कहिल्यै बढ्नुहुँदैनथ्यो तर यो चाहिँ हो कि यस अवधिमा सो समूह एवं कम्पनीहरुमा कति सुधार आयो वा के–कस्ता नीतिगत परिवर्तन भए ? वा प्रतिफलको सम्भावना कति बढ्यो त ? यसबारेमा भने समीक्षा गर्नु जरुरी छ । 

    नेप्सेमा सूचीकृत भई हाल कारोबार भईरहेका हाइड्रोपावर कम्पनीको संख्या ४० को हाराहारीमा छ । तीमध्ये १० प्रतिशत कम्पनीको  प्रतिशेयर आम्दानी मात्रै १० रुपैयाँभन्दा बढी रहेको छ भने ५० प्रतिशत भन्दा बढी कम्पनी अझैपनि घाटामा छन् । घाटा नै नभएकाहरुको पनि केहीको जगेडा कोष ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम छ । प्रतिफलको न विगत थियो, न वर्तमान अवस्था छ, न भावी सम्भावना नै छ तर वृद्धिदर तिनै कम्पनीहरुको उच्च छ । 

    हाइड्रोपावरमात्रै होइन, नेप्सेमा सूचीकृत माइक्रोफाइनान्स(लघुवित्त) उपसमूहको सूचकले पनि पछिल्ला महिनामा निकै फड्को मारेका छन् । अहिलेको बजारमा कारोबार भइरहेका लघुवित्त कम्पनीहरुको मूल्य करिब १ हजार देखि करिब ५ हजार रुपैयाँ प्रतिकित्तासम्म रहेको छ । हाइड्रोपावर कम्पनीहरुको तुलनामा धेरैजसो लघुवित्त कम्पनीहरुको नाफा केही सकारात्मक छ, केहीले राम्रै नाफासमेत गरेका छन् तर जति कमाइ छ, त्यसको अनुपातमा मूल्य निकै उच्च छ । १० रुपैयाँ कमाई गर्ने कम्पनीले सबै दिए पनि बढीमा रु. १० नै पाउने हो, आखिर १० रुपैयाँ पाउन कतिसम्म लगानी गर्ने त ? यसबारेमा सोच्नु जरुरी छ । 

    नेपाली शेयर बजारमा निकै कम कम्पनीहरु समेटिएका उत्पादन समूह र व्यापार समूहका सीमित ककम्पनीहरुको पनि ठुलै भूमिका रहेको पाइन्छ । नेपाली बजारमा हाल प्रतिशेयर १० हजार रुपैयाँभन्दा बढी मूल्य रहेका कम्पनीहरुको संख्या ५ वटा छ, तीमध्ये कुनै पनि कम्पनीको वित्तीय अवस्था उल्लेख्य छैन । केही कम्पनीले वर्षौँदेखि वार्षिक १–२ प्रतिशत पर्ने गरी लाभांश दिएका छन् भने केहीको न साधारणसभा, न वित्तीय विवरणको अत्तोपत्तो छ तर मूल्यचाहिँ तिनै कम्पनीहरुको बढिरहेका छन् । आखिर किन त ? कुन कम्पनीले वर्षौंदेखि वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन, नियामक निकायको मापदण्ड पूरा गर्न सकेको छैन र साधारणसभा समेत गर्न सकेको छैन, तिनै कम्पनीहरुको शेयरमा बढाव किन ? यसबारेमा लगानीकर्ता सचेत हुनु जरुरी छ । 

    संसारमा हिरालाई अमूल्य धातु मानिन्छ । सुन बहुमूल्य धातु हो तर हिरा अमूल्य हो । सुन र हिरामा त्यति नै फरक छ, जति बहुमूल्य र अमूल्यमा छ । सुनको खास मूल्य हुन्छ, त्यसले विश्व अर्थतन्त्रलाई चलायमान गराउन ठुलो भूमिका निर्वाह गरेको हुन्छ तर हिराले त्यस्तो केही गरेको हुँदैन । सुनको मूल्यको जुन सूत्रधार संसारसँग जोडिएको हुन्छ, हिराको मूल्यको कुनै सूत्रधार हुँदैन । सुनमा गरिने लगानी शोभा(गहना)का अतिरिक्त प्रतिफलका लागिसमेत हुन्छ तर हिराको मोल वा हिराको लगानी केवल शोभाका लागिमात्रै हुन्छ । 

    पछिल्लो समयको नेपाली शेयर बजारको अवस्थालाई हेर्ने हो भने खासगरी नयाँ लगानीकर्ताहरुले शेयरलाई सुनको रुपमा नभई हिराको रुपमा लगानी गरिरहेको पाइन्छ, जसको कुनै सूत्रधार छैन र जसको कुनै प्रतिफलको सम्भावना छैन । वित्तीय सूचक खराब रहेका, आम्दानी ऋणात्मक रहेका, वित्तीय एवं संस्थागत सुशासन कायम हुन नसकेका एवं कारबाहीमा पर्दै आएका र पर्न सक्ने सम्भावना भएका कम्पनीका शेयरलाई नै लगानीकर्ताहरुले हिराको मोल झैँ उच्च मूल्यमा खरिदबिक्री गरिरहेका छन् । 

    अहिलेको नेपालको वित्तीय अवस्थालाई हेर्ने हो भने बैंकबाट ऋण लिनेले वार्षिक १० प्रतिशतको हाराहारीमा ब्याज बुझाउनुपर्ने हुन्छ भने बैंकबाहेक सहकारी संस्था एवं अनौपचारिक रुपमा ऋण लिनेले वार्षिक १५ देखि २० प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ । सरदरमा हेर्दा १२–१५ प्रतिशत ब्याजदर कायम हुने देखिन्छ । यसको मतलब यो हो कि कुनै पनि कम्पनीले रु. १०० लगानीबापत् वार्षिक रु. १५ लाभांश दिनुपर्ने हुन्छ र त्यसलाई मात्रै पूर्ण रुपममा सुरक्षित लगानी मान्न सकिन्छ तर शेयर बजारमा गरिने लगानीमा त्यतिको सुरक्षाको प्रत्याभूति हुन सम्भव छैन । मतलब यो पनि होइन कि लाभांशको सम्भावनाकै ख्याल नगर्नु । नेपाली बजारको अवस्थालाई हेर्दा रु. १०० लगानी गर्दा कम्तीमा ५ प्रतिशतसम्म लाभांशको भने प्रत्याभूति हुनु आवश्यक देखिन्छ, जुन अवस्था हाल केही बैंक तथा विकास बैंकहरुमा मात्रै सम्भव रहेको देखिन्छ । 

    केही अघि अर्थमन्त्रीका रुपमा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारमा निकै तहल्का मच्चिन पुग्यो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विदेशी संघसंस्थामा समेत काम गरेर आएका विज्ञ अर्थमन्त्रीले शेयर बजारलाई अनुत्पादनशील क्षेत्र भनी घोषणा गरिदिए । विषय सत्य र यथार्थ थियो तर सोहीकारण उनले लाञ्छना भने धेरै नै खेप्नुपर्यो । 

    वास्तवमा शेयर बजार अनुत्पादक क्षेत्र नै हो । हाल करिब कुल गार्हस्थ उत्पादन बराबर शेयर बजारको पुँजीकरण रहेको छ यद्यपि यो पुँजी शेयर बजारले उत्पादन गरेको पुँजी होइन । देशमा अत्यावश्यक सामग्रीहरुको बिक्रीबाट प्राप्त हुने पुँजीजस्तो होइन शेयर बजारको पुँजी । कुनै सामग्रीको निर्यातबाट एवं वैदेशिक रेमिट्यान्सबाट प्राप्त हुने पुँजीजस्तो त झन् हुँदै होइन । बरु उत्पादनशील क्षेत्रबाट सिर्जना भएको पुँजीलाई भण्डारण गर्ने क्षेत्र मात्रै बन्न पुगेको छ शेयर बजार । अर्गानिक नाफा गरी कम्पनीहरुले प्रदान गरेका लाभांशमात्रै एक आधार हो, जसबाट शेयरमा पुँजी थपिने गर्दछ । १० जनाले जुवा खेल्छन् भने तीमध्ये कसैले जित्छन् त कसैले हार्छन् । जित्नेले फेरि खेल्छ र कि फेरि जित्छ र अघि जितेको पनि हार्छ ।

    हार्नेले कि खेल नै छोडेर हिँड्छ कि अरु सामान बेचेर ल्याएर फेरि खेल्छ तर जुवाबाट कुनै पनि पुँजीको सिर्जना हुँदैन । केवल केही समयलाई पुँजी चलायमान भईदिन्छ । शेयर बजारको पुँजी पनि त्यस्तै हो । ११ महिनामा बढेको २२ अर्बको पुँजीकरणको अवस्था पनि त्यस्तै हो । फरक यति हो कि पुराना लगानीकर्ताहरुले खातामा केही थपे होलान्, नयाँले केही रित्याए होला । खेलाडी लगानीकर्ताले केही कमाए होलान्, सोझाले केही गुमाए होलान् र केही अझै गुमाउने प्रक्रियामा होलान् । शेयर बजारमा गरिने लगानी बहुमूल्य हुन सक्छ र अमूल्य हुनुहुँदैन । शेयर बजारमा गरिने लगानी सुनमा गरिने लगानीजस्तै हो, जसको निश्चित सूत्रधार हुनु आवश्यक हुन्छ । त्यो लगानी अनमोल हिराजस्तो होइन र हुनुहुँदैन ।


    नारायणप्रसाद अर्याल
    अर्याल नेपालअर्थ डटकमका सल्लाहकार सम्पादक हुन् ।


    images

    Logo