भक्तपुर । भक्तपुरमा चैत २४ गतेदेखि छैटौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा चैत २४ गतेदेखि बैशाख ४ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो ।
मेला आयोजक समितिका संयाेजक दीपक थापाका अनुसार, यसअघि ५ पटक यस्तो मेला आयोजना भएकोमा दुईवर्षयता भने कोभिड महामारीका कारण आयोजना हुन पाएको थिएन । कोभिड महामारी कम भएपछि यो वर्ष भने भव्य रुपमा मेला आयोजना गर्ने तयारी गरेको थापाले बताए ।
भक्तपुरको सल्लाघारी तिनकुनेस्थित १ सय ८ रोपनी क्षेत्रफलमा उक्त मेला आयोजना हुनेछ । मेलामा २ सय भन्दा बढी स्टल रहनेछन् । स्थानीय व्यवसायीले साइज अनुसार ६ हजार रुपैयाँदेखि १९ हजार ५ सय रुपैयाँसम्म शुल्क तिरेर स्टल खरिद गर्न पाउनेछन् । सो मेलामा ३ लाख जना अवलोकनकर्ताको सहभागिता रहने र झन्डै ८ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ ।
मेलामा दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, कृषि सामाग्री एवम् हस्तकलाका सामाग्री उपलब्ध हुनेछ । साथै राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति समेत सो कार्यक्रममा हुनेछ । त्यस्तै फेसन व्याप तथा नृत्य, औधोगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधिको गतिविधि, अटोमोबाइल, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी रहनेछ ।
त्यस्तै, सांस्कृतिक व्यापारिक तथा पर्यटकीय स्थलको वृत्तचित्र समेत प्रस्तुत गरिनेछ । महोत्सवमा राष्ट्रिय अन्तर्राष्ट्रिय खाना महोत्सव समेत सञ्चालन हुनेछ । मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट हुनेछ । मनोरञ्जनका लागि मेलामा एशियाकै उत्कृष्ठ बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौनाको समेत व्यवस्था गरिएको छ ।
यो महोत्सवबाट भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका अन्य जिल्लाका बासिन्दाले समेत लाभ लिनसक्ने आयोजकको विश्वास छ । मेलाको अवलोकनका लागि विद्यार्थीलाई ४० रुपैयाँ र साधारण व्यक्तिलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।


