काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे नयाँ प्रस्ताव गरेको छ । निगमले सरकारलाई दिएको सुझावमा अहिले रहेको नोक्सानलाई कर घटाएर समायोजन गर्ने र त्यसपछि हुने नोक्सानलाई मूल्य वृद्धिबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।
अहिले पेट्रोलियम पदार्थमध्ये निगमलाई पेट्रोलमा २८.५७ रुपैयाँ, डिजेलमा ३२.१५ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर ६६५.३४ रुपैयाँ नोक्सान रहेको छ । त्यसमध्ये भन्सार, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर लगायतमा १५ रुपैयाँ कर घटाउने र बाँकी रकम समायोजन गर्ने प्रस्ताव गरेको छ ।
निगमले गरेको प्रस्ताव लागु भए अहिलेको अवस्थामा पेट्रोलमा १३.५७ र डिजेलमा १७.१५ रुपैयाँ मूल्य बढ्नेछ ।
त्यस्तै, ग्यासमा २ सय रुपैयाँ कर घटाउने र अरु नोक्सान मूल्य समायोजन गरेर पूरा गर्ने प्रस्ताव निगमले गरेको छ । यसो गर्दा ग्यासको मूल्य एकैपटक ४ सय ६५ रुपैयाँ ३४ पैसा बढ्न जानेछ ।
त्यस्तै, निगमले अहिलेको मूल्य समायोजन प्रणाली प्रत्येक १५ दिनमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा मूल्य घटबढ गर्ने प्रस्ताव समेत गरेको छ । अहिलेको स्वचालित मूल्य प्रणाली अनुसार १५ दिनमा २ प्रतिशत मात्रै घटबढ गर्न पाउने व्यवस्था छ ।
निगमले शुन्य नाफाको सिद्धान्त अनुसार अगाडि बढ्न यस्तो प्रस्ताव गरेको हो । यसअनुसार निगमले पेट्रोलियम पदार्थको बिक्रीबाट नाफा वा नोक्सान व्यहोर्दैन । लागत मूल्यमै इन्धन बेचेर शुन्य नाफा वा नोक्सानको अवस्थामा चल्छ ।


