काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा केही समय अगाडि शेयर बजार १ हजार ८ सयको विन्दुसम्म झर्यो । कुनै समय ३ हजार २ सयको नजिक पुगेको बजार सो लेभलमा झरेपछि शेयर बजारका लगानीकर्ताले भन्न थालेका थिए, ‘अब शेयर बजार घट्ने ठाउँ नै छैन ।’ हुन पनि मौद्रिक नीति आएसँगै शेयर बजारमा सुधार आयो । अहिले बजार परिसूचक २ हजारको विन्दुमा छ ।
दोस्रो बजारमा शेयरमूल्यको उतारचढाव सामान्य नै हो । तर, बजारमा कुनैपनि कम्पनीको शेयरमा लगानी गर्नुअघि आधारभूत रुपमा कम्पनीको अवस्थाको बारेमा ज्ञान राख्नुपर्छ । तर, शेयर बजारमा यस्ता कम्पनीको शेयर समेत उच्च मूल्यमा कारोबार भइरहेको छ, जसमा न कुनै वर्तमान छ न भविष्य नै । यो कम्पनी हो दिव्यश्वरी हाइड्रोपावर ।
दिव्यश्वरी हाइड्रोपावर कम्पनी अहिले प्रतिशेयर २ सय २२ रुपैयाँमा कारोबार भइरहेको छ । जबकी यसको नेटवर्थ नै १५ रुपैयाँमा झरिसकेको छ, जुन प्रत्येक वर्ष झन् झन् कम हुँदै गएको छ । यसको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ऋणात्मक छ । यही अवस्था रह्यो भने आगामी साढे २ वर्षमा नेटवर्थ शुन्यमा झर्ने अवस्था छ ।
त्यसो त हाइड्रोपावर कम्पनी निर्माणको क्रममा हुँदा नेटवर्थ १०० रुपैयाँभन्दा तल झर्नु स्वभाविक नै मानिन्छ । तर, यो कम्पनीसँग निर्माणधिन कुनै पनि परियोजना छैन । संखुवासभाको सवाखोलामा ४ मेगावाटको जलविद्युत् परियोजना रहेको कम्पनीले २०७४ असोजदेखि नियमित रुपमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बेचिरहेको छ । यसका बाबजुद पनि कम्पनी ‘ब्रेक इभेन’मा टिक्न सकेको छैन ।

सो कम्पनीसँग अहिले झण्डै ६४ करोड रुपैयाँ ऋण छ । जसको ब्याज नै ६ करोड रुपैयाँ भन्दा बढी छ । कम्पनीले गत वर्ष बिजुली बिक्रीबाट ९ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ । ह्रासकट्टि तथा अन्य लागत समेत गरी कम्पनीको नोक्सान यो वर्ष १ करोड ७३ लाख र सञ्चित नोक्सान २२ करोड रुपैयाँ पुगिसकेको छ ।
सो कम्पनीले २०७३ सालमा आईपीओ ल्याएको थियो । अहिले कम्पनीसँग २६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । ४ मेगावाट बिजुली उत्पादन गर्न झण्डै ८५ करोड रुपैयाँ खर्चिएको उक्त कम्पनीले ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वःपुँजीबाट जुटाएको थियो ।
निरन्तर नोक्सानमा गएपछि अहिले कम्पनीले बैंकको सावाँब्याज तिर्न समेत सकेको छैन । कर्मचारीलाई तलब दिन नसकेर श्रम अदालतमा मुद्दा खेपिरहेको उक्त कम्पनीले आयोजना यही अवस्थामा शेयरधनीलाई अनन्त कालसम्म लाभांश दिनसक्ने अवस्था छैन । कम्पनीसँग नाफा जाने कुनै योजना पनि छैन ।
शेयरधनी भने अझै निष्फिक्री महँगो शेयर किनबेच गरिरहेका छन् । त्यसो त बजारमा सस्तो मूल्यका अरु कम्पनीहरु नभएका पनि होइनन् । दाेहाेराे अंकमा लाभांश बाँड्ने क्षमता भएका बैंकका शेयर अहिले २०० रुपैयाँको हाराहारीमा पाइन्छन् । तर, शेयरधनीहरु यही कम्पनीलाई महँगो मूल्य तिरिरहेका छन् । यस्तो अवस्थाले अब बजार घट्ने ठाउँ छैन भन्ने भनाइलाई गिज्याइरहेको छ ।


