काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार सम्बन्धी दुईवटा नयाँ व्यवस्था गर्यो । बोर्डले एउटा प्रि–ओपनिङ सेसनमा हुँदै आएको कारोबारमा २ प्रतिशत भन्दा धेरैको फरक गर्न नपाइने व्यवस्था गरेको छ भने अर्को बजारमा शेयरको खरिद बिक्रीका लागि १० पैसाको फरकमा मूल्य कायम गर्न पाउने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाबारे बोर्डले विज्ञप्तीमार्फत् जानकारी दिएको छ । यद्यपि यसको कार्यान्वयन गर्ने संस्था नेपाल स्टक एक्सचेञ्जमा भने यस्तो निर्देशन पुग्न बाँकी छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आफूहरुको प्रस्ताव बमोजिम नै बोर्डबाट ती दुई विषयमा नीतिगत निर्णय भएको भन्दै बोर्डबाट आधिकारिक पत्र आउने बित्तिकै कार्यान्वयन प्रक्रिया सुरु गर्ने बताए ।
उनका अनुसार बोर्डबाट पत्र आएपछि सम्बन्धित विभागले यी व्यवस्थाको कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन भन्ने परीक्षण गर्छ । सो परीक्षणको रिपोर्ट र बोर्डको निर्देशन नेप्सेको सञ्चालक समितिमा जान्छ । समितिले उक्त प्रस्ताव स्वीकृत गर्दै निश्चित दिन तोकेर उक्त निर्देशन कार्यान्वयन गर्ने निर्णय गर्छ । त्यसपछि यो व्यवस्था कार्यान्वयनमा आउँछ ।
यी दुवै व्यवस्था गर्न लगानीकर्ताले विभिन्न समयमा माग गर्दै आएका हुन् । तर, अहिले आएर मात्रै यससम्बन्धी नीतिगत व्यवस्था भएको हो ।
प्रि–ओपनिङको सीमा घट्दा के हुन्छ ?
११ बजे कारोबार खुल्नुभन्दा अगाडि १०ः३५ देखि १०ः५५ सम्म २० मिनेट नेप्सेमा प्रिओपनिङ सेसन चल्छ । सो सेसनमा हुने कारोबारमा शेयरको मूल्य ५ प्रतिशतसम्मको घटबढमा खरिद वा बिक्री अर्डरमा राख्न सकिने व्यवस्था छ । जबकि सामान्य अवस्थामा भने २ प्रतिशत भन्दा बढी तलमाथिमा अर्डर गर्न पाइँदैन ।
यसरी ५ प्रतिशत तलमाथि हुनुको तर्क के हो भने अघिल्लो दिन बजार बन्द भएपछि विकसित भएका घटनाक्रम र कुनै कम्पनीबारे आएका समाचारको प्रभाव सोही सेसनमा देखियोस् र यसले मूल्यलाई निश्चित तहमा पुर्याओस् भन्ने हो । यसले साधारण लगानीकर्ता ठगिने सम्भावनाबाट बचाउँछ ।
तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । प्रिओपनिङ सेसनलाई मूल्यमा चलखेल गर्ने, मार्केटडेफ्थमा असन्तुलन ल्याउने काममा ठूला खेलाडीहरुले प्रयोग गरिरहेको गुनासो आइरहेको छ । अब २ प्रतिशत मात्रै घटबढ हुन पाउने व्यवस्थाले यस्तो चलखेललाई निर्मूल गर्ने जानकारहरु बताउँछन् ।
यद्यपि यसको नोक्सान नै छैन भन्ने होइन । घटबढमा गरिएको नियन्त्रणले समग्र बजार वा कम्पनीबारे जानकारी नभएका लगानीकर्ताहरुले शेयर खरिदबिक्री गर्दा कहिले राम्रो मूल्य नपाउने तथा कहिले महँगो मूल्य तिरेर फस्ने सम्भावना हुने विश्वास गरिन्छ ।
१० पैसाको फरकमा अर्डरको प्रभाव
नेप्सेले गरेको व्यवस्था अनुसार १०० रुपैयाँ अंकित मूल्य भएका शेयरहरु अहिले पनि १ रुपैयाँको फरकमा मात्रै खरिद र बिक्री अर्डर गर्न सकिन्छ । उदाहरणको लागि मार्केटडेफ्थमा ३०१ रुपैयाँमा कुनै शेयरको खरिद अर्डर छ भने त्योभन्दा माथिल्लो खरिद अर्डर राख्न अहिले अर्को ग्राहकले ३०२ रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ ।
तर, यो व्यवस्था लागु भएपछि बढी मूल्यमा खरिद गर्न चाहनेले ५०० रुपैयाँ १० पैसामा अर्डर राख्न सक्छ । त्यसो हुँदा त्यस्तो लगानीकर्ताले शेयर स्क्रिप किन्दा पैसा बचाउन सक्छ । यो भनेको खरिदबिक्री गर्दा लाग्ने कमिसन बराबरको शुल्क हो । विवेवशील लगानीकर्ताले यस्तो कारोबारबाट राम्रो आम्दानी गर्नसक्ने जानकारहरु बताउँछन् ।
नेप्सेका प्रवक्ता पराजुली यो व्यवस्था कार्यान्वयनमा आउँदा बजार प्रतिस्पर्धाका साथै कारोबारको भोल्युम पनि बढ्ने बताउँछन् । यो नीतिगत व्यवस्थाका लागि पनि नेप्सेले बोर्डसँग प्रस्ताव गरेको र सोही अनुसार नीतिगत निर्णय भएको उनको दाबी छ ।


