images
images

जानकारी

डीम्याट र मेरो शेयर कहिले कहिले गर्नुपर्छ नवीकरण ? फरक व्यवस्थाले ग्राहकमा 'कन्फ्युजन'


  • 6.9K
    SHARES
  • २०७८ आषाढ २७ गते आइतबार

    डीम्याट र मेरो शेयर कहिले कहिले गर्नुपर्छ नवीकरण ? फरक व्यवस्थाले ग्राहकमा  'कन्फ्युजन'

    काठमाडौं । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा शेयर बजारमा डिम्याट खाताका ग्राहकहरुलाई निक्षेप सदस्य (डीपी) हरुले धमाधम डिम्याट एकाउन्ट नवीकरणका लागि सन्देश पठाउन थालेका छन् । प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार हाल ती कम्पनीहरुले ग्राहकलाई विभिन्न माध्यमबाट सन्देशहरु पठाउन थालेका हुन् । 

    डीपीहरुले मात्रै होइन, अनलाइन भुक्तानी प्रदायकहरुले समेत अनलाइनबाटै यस्तो शुल्क भुक्तानी गर्न सन्देश पठाइरहेका छन् । सम्बन्धित निक्षेप सदस्यरुसँग मर्चेन्ट कारोबार सम्झौता गरेका सेवा प्रदायकले अहिले नवीकरणका लागि मोबाइलबाटै अनलाइन भुक्तानीको व्यवस्था गरेका छन् । 

    तर, ग्राहकमा भने कुन एकाउन्ट कहिले नवीकरण गर्नुपर्छ भन्ने अन्यौलता छ । स्वयम्भुका सुरेश दाहालले २ महिना अघि मात्रै १ सय ५० रुपैयाँ तिरेर डिम्याट एकाउन्ट र मेरो शेयर एकाउन्ट खोलेका थिए । खाता खोलेको २ महिना नहुँदै नवीरकण गर्नु सन्देश आउँदा उनी अचम्ममा परेका छन् । भन्छन्, ‘२ महिनामै फेरि नवीकरण गर्नु त पर्दैन होला, क्यापिटलले सबैलाई म्यासेज पठाउँदा मात्रै आएको होला भन्ने लागेको छ ।’

    डीम्याट र मेरो शेयरका लागि छुट्टाछुट्टै व्यवस्था

    नेपाली शेयर बजारको एकमात्र केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफसम्बन्धी निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाताको नवीकरण आर्थिक वर्ष अनुसार नै गर्नुपर्छ । 

    उदाहरणको लागि कसैले १०० रुपैयाँ तिरेर बैशाखमा डिम्याट खाता खोलेको रहेछ भने त्यो खाता असारसम्मका लागि मात्रै हुन्छ । साउनमा फेरि नवीकरण गर्नुपर्छ । तर, साउनमा नवीकरण गरेपछि १०० रुपैयाँले एक वर्षसम्मका लागि खाता नवीकरण हुन्छ । 

    सीडीएससीले विकास गरेको मेरोशेयर सफ्टवेयरको प्रयोगका लागि भने डीम्याट खाता भन्दा फरक व्यवस्था छ । यो सेवाको नवीकरण आर्थिक वर्षका आधारमा हुँदैन बरु सेवा लिएको समयका आधारमा हुन्छ । उदाहरणको लागि वैशाखमा डीम्याट खाता खोल्नेको हकमा मेरोशेयर एकाउन्ट अर्को बैशाखसम्मका लागि कायम रहन्छ । त्यसपछि भने ग्राहकले यसको नवीकरण गर्नुपर्छ । 

    सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने डीम्याट र मेरोशेयर सेवा एकैपटक लिने भएकोले ग्राहकलाई एउटै सेवाजस्तो लागे पनि फरक फरक भएको बताउँछन् । 

    कसरी गर्ने नवीकरण ?

    अहिले डिम्याट र मेरोशेयरको खाता नवीकरणका लागि सम्बन्धित डिपोजिटरी पार्टनरमा गएर नगद भुक्तानी गरेर वा भुक्तानी सेवा प्रदायकमार्फत् समेत डिम्याट र मेरोशेयरको नवीकरण गर्न सकिन्छ । त्यस्तै सीडीएससीको पोर्टलमार्फत् पनि नवीकरण गर्न सकिन्छ ।

    अहिले ती खाताको नवीकरणका लागि भुक्तानी गर्नेबित्तिकै स्वतः नवीकरण हुन्छ, नवीकरणका लागि कुनै फर्म भर्न वा पत्र लेख्नु समेत पर्दैन । ग्राहकले एकैपटक एकभन्दा धेरै वर्षका लागि नवीरकण समेत गर्न सक्नेछन् । 


    images

    Logo