images
images

सबैभन्दा धेरै महंगी काठमाडौंमा, अन्य स्थानमा कति ?


  • 609
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    सबैभन्दा धेरै महंगी काठमाडौंमा, अन्य स्थानमा कति ?

    काठमाडौं । देशका अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७.६८ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । सो अवधिमा तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.३९ प्रतिशत रहेको थियो । त्यस्तै, उक्त अवधिमा तराई, पहाड र हिमालमा क्रमशः ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।  

    सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको भएतापनि वैशाख मसान्तसम्ममा, वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा उक्त दर ७.८७ प्रतिशत बराबर रहेको थियो । 

    आर्थिक वर्ष २०७९/८० को वैशाखमा खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर क्रमशः ७.१३ प्रतिशत र ८.४५ प्रतिशत रहेको थियो । 

    खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । 

    त्यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।


    images

    Logo