काठमाडौं । नयाँ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो समय धमाधम आईपीओ जारी गरिरहेका छन् । केही वर्षअघि १० जीवन बीमा र ३ निर्जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिइएकोमा तीनवटै निर्जीवन बीमा कम्पनीहरु अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छन् ।
१० जीवन बीमाहरुमध्ये यसअघि नै रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स एवं युनियन लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गरिसकेका छन् भने सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेबाट आईपीओ जारी गर्ने भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आईपीओका रुपमा प्रतिकित्ता रु. १०० मा बिक्री गर्न लागेको हो । ६० लाख कित्तामध्ये ५ प्रतिशत शेयर कम्पनीले आफ्ना कर्मचारीहरुलाई तथा थप ३ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई प्रदान गर्देछ ।
यस आधारमा सर्वसाधारणलाई सो कम्पनीले ५४ लाख कित्ता शेयर जारी गर्न लागेको हो । सो कम्पनीको शेयरमा साउन २४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको शेयरमा आवेदन गर्नेहरुमध्ये करिब ५ लाख ४० हजार भाग्यमानीले कम्पनीको शेयर १० कित्ताका दरमा पाउने सम्भावना रहेको छ ।
नयाँ जीवन बीमा कम्पनीहरुमध्ये आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ भने बाँकी रहेका सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि आईपीओ जारी गर्ने चरणमा रहेका छन् ।


