काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि प्राथमिक शेयर निष्कासन (आईपीओ) ल्याउने भएको छ । सो कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
सो शेयरमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार कित्ता शेयर सर्वासाधारणलाई बिक्री गर्न लागेको हो । सो शेयरको निष्कासन छिटोमा साउन ३१ गते निष्कासन बन्द हुनेछ ।
यो शेयर निष्कासनका लागि एसबीआई मर्चेन्टले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा लिएको छ ।
कस्तो छ मानुषी लघुवित्त ?
काभ्रेको बनेपा मुख्य कार्यालय भएको यो लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यो लघुवित्तको हालको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । सो कम्पनीले संस्थापक शेयर र साधारण शेयरको हिस्सा ६४ः३६ हुनेगरी सो परिमाणमा शेयर बिक्री गर्न लागेको हो । शेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी बढेर १० करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको आर्थिक वर्ष २०७६÷७७ को नेटवर्थ १ सय ३२ रुपैयाँ छ । सो वर्ष नकारात्मक नाफा हासिल गरेको मानुषीले आर्थिक वर्ष २०७७÷७८ मा भने १० रुपैयाँ प्रतिशेयर आम्दानी हुने प्रक्षेपण गरेको छ ।


