काठमाडौं । अंकित मूल्यमा आईपीओ जारी भएका कम्पनीमध्येकै सबैभन्दा राम्रो कम्पनी मानिएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार हुँदैछ । नेपाल स्टक एक्सचेञ्जले बुधबार शेयर सुचीकृत गरेसँगै आजदेखि कारोबार हुन लागेको हो । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो कम्पनीको आर्थिक वर्ष २०७६ ७७ को नेटवर्थ ३१५.२७ रुपैयाँ थियो । सोही आधारमा नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ३०५.२७ देखि ९१५.८१ सम्मको ओपन रेञ्ज दिएको छ ।
कति पुग्ला मूल्य ?
आर्थिक वर्ष २०७६ ७७ मा यो कम्पनीले करिब १ सय ५ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको थियो । जबकी अर्को सर्वाधिक मूल्य भएको महिला लघुवित्तको प्रतिशेयर आम्दानी त्यतिबेला ८६ रुपैयाँ थियो ।
आम्दानी तथा नेटवर्थका आधारमा अब्बल रहेको कारण सो कम्पनीको मूल्य लघुवित्त कम्पनीमध्येकै सर्वाधिक अवस्थामा पुग्नसक्ने विश्लेषण शेयर विश्लेषकहरुको छ ।


