काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा सिटिजन्सले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३३ प्रतिशत बढी हो ।
१२ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको यो नाफा प्रतिशेयर १५.३८ रुपैयाँ हो । बैंकको कुल नाफामध्ये १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ नाफा शेयरधनीलाई बाँड्न मिल्ने अवस्थामा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
बैंकले अघिल्लो वर्ष ८८ अर्ब रुपैयाँमा सीमित रहेको निक्षेपको आकार बढाएर १ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जाको आकरलाई करिब ७९ अर्बबाट १ खर्ब १५ अर्ब रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले रिजर्भको आकार बढाएर ३ अर्ब ३९ करोडबाट ४ अर्ब ४१ करोड पुर्याएको छ ।
अन्य वित्तीय विवरणमा सुधारको बाबजुद बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्ष १.५५ प्रतिशत रहेको बैंकको एनपीएल २.७७ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ५.८५ प्रतिशत, बेसरेट ७.१९ प्रतिशत र स्प्रेडरेट ३.५९ प्रतिशत रहेको छ ।


