images
images

कुलमानको नियुक्तिबारे इपान अध्यक्ष : हामीले उहाँसँग सहकार्य गर्नैपर्छ, गर्छौं


  • 838
    SHARES
  • २०७८ श्रावण २८ गते बिहीबार

    कुलमानको नियुक्तिबारे इपान अध्यक्ष  : हामीले  उहाँसँग सहकार्य गर्नैपर्छ, गर्छौं

    ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ पुनः नियुक्त भए । उनले बुधबार नै कार्यकारी निर्देशकको रुपमा दोस्रो कार्यकाल सम्हालिसकेका छन् । उनको नियुक्तिले आम जनता खुसी भएका छन् । 

    तर अघिल्लो कार्यकालमा कुलमानसँग उद्योगी र उर्जा उत्पादकसँगको सम्बन्ध भने खासै राम्रो भएन । ट्रङ्क र डेडिकेटेड लाइन महशुल विवादका कारण कुलमानप्रति उद्योगीहरु सकारात्मक भएनन् । 
    उता, विद्युत् आयोजनाको पीपीए तथा अन्य सहुलियतका विषयमा पनि निजी क्षेत्रका उत्पादकले राखेका मागप्रति पनि उनी सकारात्मक नरहेको गुनासो आएका थिए । 

    व्यवसायीमाथि अनुदार व्यक्तिको छवि बनाएका कुलमानको कमब्याकलाई निजी क्षेत्रको उर्जा उत्पादक संघ (इपान) ले कसरी लिएको छ त ? हेरौं अध्यक्ष कृष्णप्रसाद आचार्यसँगको छोटो कुराकानी । 

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुभएको छ । उहाँको नियुक्तिलाई स्वतन्त्र उर्जा उत्पादक संघले कसरी लिएको छ ? 

    हामीले व्यक्ति विशेषलाई हेर्ने कुरा हुँदैन । हाम्रा समस्या र हामीले उठाएका कुराहरुलाई सुन्ने, निजी क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्ने, निजी क्षेत्रका समस्याहरुलाई समाधान गरिदिने, सहजीकरण गरिदिने मान्छे छ कि छैन भनेर हामीले हेर्ने हो । 

    अहिलेसम्म हामीले उत्पादन गर्ने विद्युत्को एकमात्र खरिदकर्ता नेपाल विद्युत् प्राधिकरण मात्रै हो । यस अर्थमा प्राधिकरणको नेतृत्वले हामीलाई कसरी हेर्छ भन्ने कुरामा पर्छ । 

    उहाँले प्राधिकरणको नेतृत्वमा रहेर ४ वर्ष बिताइसक्नुभएको छ, त्यसैले उहाँको बारेमा तपाइँहरुलाई धेरै थाहा छ । उहाँप्रति केही सकारात्मक वा नकारात्मक अपेक्षाहरु त होलान् नि ? 

    उहाँको एउटा विशेषता के हो भनको निर्णय गर्ने क्षमता राख्नुहुन्छ । कुनै पनि विषयमा लिएर गएका कुराहरुलाई हुन्छ कि हुँदैन भन्ने निर्णय तत्कालै दिनुहुन्छ ।

    हाम्रो अनुभवले के भन्छ भने नेपालको कर्मचारीतन्त्रमा अनिर्णयको बन्दी हुने धेरै हाकिमहरु छन् । तर, उहाँमा यस्तो छैन, विगतमा हामीले उहाँमा देखेको यो एउटा सकारात्मक पक्ष हो । 

    अहिले उहाँ फेरि आउनुभएको छ । सरकारको स्वामित्वमा भएको संस्थान भएकोले सरकारले गर्ने नियुक्तिमा हामीले केही भन्न मिल्दैन । तर, हामीसँग सहकार्य भयो भने त्यो हाम्रो लागि राम्रो भयो । सहकार्य गर्न सकिएन भने त्यो राम्रो भएन । 

    हामीले सहकार्य गरौं भनेका पनि छौं । तर, सहकार्य कसरी अघि बढ्छ हेरौं, अहिले नै भविष्यको बारेमा त कसरी भनौं र ?

    तपाइँको विचारमा कुलमानको अबको चुनौती चाहिँ के के देख्नुहुन्छ ?

    अबको सबैभन्दा ठूलो चुनौती भनेको विद्युत् खपत गराउने नै हो । विद्युत् उत्पादन भयो, लोडसेडिङ अन्त्य भयो भनेर अहिले हामीले भनिरहेका छौं । तर, अब त्यो चरणबाट हामी पार गरिसकेका छौं । अब भनेको खपत बढाउने हो र प्राधिकरणले आफूले किनेको बिजुली नोक्सान नव्यहोरिकन र खेर नफालिकन बिजुली बेच्ने हो । यो सबैभन्दा ठूलो र पहिलो चुनौती हो । 

    त्यसको लागि उहाँले गर्नुपर्ने काम भनेको प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्ने र गुणस्तरीय बिजुली उपलब्ध गराउने र सोही अनुसार सेवा दिने नै हो । बिजुलीको उपयोगको लागि औद्योगिक खपत बढाउने, कृषिमा खपत बढाउने काम गर्नुपर्छ । 

    तराईको धेरैजसो फाँटहरु सुख्खा छन् । त्यसलाई बिजुलीले पम्प गरेर सिँचाई गर्न सकियो भने धेरै ठूलो आर्थिक क्रान्ति गर्न सकिन्छ, कृषि क्रान्ति गर्न सकिन्छ । 

    त्यस्तै औद्योगिक खपत बढाउने, विद्युतीय परिबहनमा खपत बढाउने गर्न सकिन्छ । ठाउँ ठाउँमा चार्जिङ स्टेशनहरु राख्ने गर्न सकिन्छ । 

    त्यस्तै ग्राहस्र्थ खपतमा पनि प्राधिकरणले धेरै काम गर्नुपर्ने आवश्यकता छ । हामी इन्डक्सन चुल्हो त बाल्छौं, तर त्यसका लागि ट्रान्समिसन लाइनको अवस्था भने राम्रो छैन । त्यसैले यसको क्षमता बढाउनुपर्ने आवश्यकता पनि छ ।

    जस्तो ५ एम्पियरको मिटर जडान गरिएको छ भने त्यसलाई १० एक्पियर बनाइदिने, तारले धान्न नसक्ने अवस्था छ भने त्यसलाई परिवर्तन गनुपर्छ जस्तो लाग्छ । यसका लागि ग्राहस्र्थ उपभोक्तालाई अनुदान वा सहुलियत दिएर ग्राहस्र्थ खपत बढाउनुपर्ने अवस्था छ । 

    अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै खपतको हो । अहिले पनि निजी क्षेत्रको हजारौं मेगावाट बराबरको पीपीए रोकिएर बसेका आयोजनाहरु छन् । ती आयोजनाहरुलाई पीपीए गरिदिनुपर्ने आवश्यकता हामीले देखेका छौं । 

    यी सबै कार्यहरु हुनेमा तपाइँ व्यक्तिगत रुपमा चाहिँ कति आशावादी हुनुहुन्छ ? 

    हरेक व्यक्तिले आफूले जुन ठाउँमा छ, त्यसमा अझै राम्रो हुन्छ भन्ने आशा गरेको हुन्छ । अझै व्यवसायीहरु त आशावादी नभई चल्नै सक्दैनन् । यस अर्थमा उर्जाको क्षेत्रमा भविष्यमा थप सुधार हुनेमा म आशावादी छु । 


    दिलिप खड्का
    खड्का नेपालअर्थ डटकमका संवाददाता हुन् ।


    images

    Logo