काठमाडौं । प्राइम कमर्शियल बैंकले एकैवर्ष अर्ब नाफा बढाएको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड १४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकको नाफा बढ्नुमा ब्याज आम्दानी, कमिशन तथा शुल्कसम्बन्धी आम्दानी तथा व्यापारमूलक तथा अन्य सञ्चालन आम्दानी सबैको योगदान छ । इम्पेरिमेन्ट चार्जमा बैंकले ७७ करोड रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्षको भन्दा सामान्य बढी हो ।
यो वर्ष बैंकको कर्मचारी खर्चमा ठूलो वृद्धि देखिएको छ । सञ्चालन खर्चमा भने प्राइमले मितव्ययिता अपनाएको देखिन्छ ।
सवा ३ अर्ब नाफा गरे पनि प्राइमले शेयरधनीहरुलाई भने २ अर्ब ६६ करोड रुपैयाँ मात्रै बाँड्नसक्ने देखिएको छ । रेगुलेटरी रिजर्भको फिर्ता हुने रकम भन्दा त्यसका लागि छुट्याउनुपर्ने रकम बढी भएपछि वितरणयोग्य नाफा घटेको हो । यो नाफाले शेयरधनीलाई १६.६० प्रतिशत लाभांश दिन पुग्छ ।
अन्य वित्तीय सूचकमा बैंक सामान्य अवस्थामै देखिन्छ । एनपीएल घटेर १.१९ प्रतिशतमा झरेको छ । कस्ट अफ फण्ड ५.७४ प्रतिशत तथा बेसरेट ७.२१ प्रतिशत छ ।


