काठमाडौं । पछिल्लो समय शेयर बजारले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ । कहिले कारोबार त कहिले परिसूचकका आधारमा शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गर्दै गएको छ । सामान्य करेक्सनलाई छाड्ने हो भने पछिल्लो डेढ वर्षदेखि बजार उकालो बाटोमा छ । यही कारण शेयर बजारको पुँजीकरणमा पनि यो अवधिमा दोब्बर भन्दा बढीको वृद्धि देखिएको छ ।
तर, बजार यसरी बढिरहँदा नियामक निकायहरुले भने बजारमाथि एकपछि अर्को डन्डा चलाइरहेका छन् । विभिन्न नियामकीय व्यवस्थामार्फत् लगानीकर्तालाई हतोत्साहित पार्ने खालका व्यवस्था नियामकले गर्दै आएका छन् । यद्यपि बजारमा यसको प्रभाव भने खासै ठूलो परेको छैन ।
शेयर बजारमाथि नियामकीय प्रहार श्रृंखला
प्रहार नम्बर १ : धितोपत्र बोर्डको सूची
असारमा धितोपत्र बोर्डले शेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ ओटा कम्पनीको सूची सार्वजनिक गरेको थियो ।
बोर्डले विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको शेयरको मुल्यवृद्धि ३ सय प्रतिशत भन्दा बढी भएका, मुल्य आम्दानी अनुपात १०० भन्दा बढी भएको, प्रतिशेयर आम्दानी ऋणात्मक भएको र प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम रहेको विषयलाई आधार मानेर सूची सार्वजनिक गरेको थियो ।
धितोपत्र बोर्डको काम यो कम्पनी शेयर किन्ने यसको बेच्ने भन्ने नभएको भन्दै व्यापक रुपमा आलोचना भएको थियो ।
प्रहार नम्बर २ : बैंक तथा वित्तीय संस्थालाई पुष मसान्तसम्म शेयर बेचिसक्न निर्देशन
राष्ट्र बैंकले जेठमा आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले लघुवित्त कम्पनीको शेयर खरिदमा रोक लगाउने व्यवस्था गरेको थियो । यो व्यवस्थासँगै बैंकहरुले जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर पुस मसान्त भित्रमा बिक्री गरिसक्नु पर्नेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएको थियो ।
प्रहार नम्बर ३ : बैंकहरुको प्रोभिजनिङ
नेपाल राष्ट्र बैंकले साउनमा बैंकहरुले गर्नुपर्ने प्रोभिजनिङ सम्बन्धी थप व्यवस्था गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैकहरुले असल वर्गका कर्जामा १ प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो तर राष्ट्र बैंकको नयाँ व्यवस्थासँगै बैंकहरुले १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने भएको छ ।
प्रोभिजनिङको ब्यबस्थासँगै बैंकहरुको मुनाफा घटेको छ । यही व्यवस्थाका कारण बैंकिङ क्षेत्रको नाफा करिब ८ अर्ब रुपैयाँले घटेको बैंकरहरू बताउँछन् । मुनाफा घटेसँगै बैंकको लाभांश क्षमता घटेर घटेको छ । यसले पनि शेयर बजारलाई प्रभावित बनाएको छ ।
प्रहार नम्बर ४ : ठूला लगानीकर्तालाई राष्ट्र बैंकको बन्देज
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँसम्म लिन मिल्ने व्यवस्था गरेको छ । त्यस्तै, समग्र वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म शेयर धितोमा प्रवाह हुने कर्जा ब्यक्ति वा संस्थाले लिन पाउने उल्लेख गरेको छ ।
यसअघि शेयर धितोमा ७० प्रतिशतसम्मको मार्जिज सीमाभित्र रहेर जतिसुकै कर्जा लिन पाउने व्यवस्था थियो । अहिले यो मार्जिनलाई यथावत राखे पनि व्यक्तिगत रुपमा अधिकतम सीमा निर्धारण गरिएको हो ।
प्रहार नम्बर ५ : ब्याजदर बढाउने राष्ट्र बैंकको मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिमा सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागु गरेको छ । यो ब्यबस्थाले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूजीँ अभाव हुने देखिएको छ । सीडी रेसियो हुवहु कार्यान्वयन हुँदा लगानीयोग्य पूजीँमा कमि आउने र ब्याजदर बढ्ने सम्भावना देखिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार सीडी रेसियो हुबहू लागु हुँदा ३ खर्ब रुपैयाँ जति लगानीयोग्य पूजीँमा कमी आउँछ । यसले बजारमा ब्यादर बढ्ने सम्भावना रहने उनले बताए ।
प्रहार नम्बर ६ : विद्युत नियमन आयोगको विज्ञप्ती
गत बुधबार विद्युत् नियमन आयोगले हाइड्रो पावरको शेयरमा अस्वभाविक वृद्धि भइरहेको भन्दै एक विज्ञप्ती जारी गर्यो । आयोगले हाइड्रो पावरको शेयरमा लगानी गर्दा बिभिन्न १६ पक्षहरुमा ध्यान दिन भन्दै विज्ञप्ती जारी गरेको थियो ।
बुधबार जारी भएको विज्ञप्तीको असर बिहीबारको शेयर बजारमा देखियो । सो दिन धेरैजसो जलविद्युत् कम्पनीको शेयर मुल्य घटेको थियो । यद्यपि समग्र बजारमा ठूलो असर भने गरेन । पछिल्लो दिनहरुमा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिँदै आएको छ ।
प्रहार नम्बर ७ : हाइड्रोपावरको हकप्रद शेयर जारी गर्न नदिने हल्ला
यतिबेला जलविद्युत् कम्पनीहरुले लगानी जुटाउन धमाधम हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेका छन् । हाइड्रोपावरले बोनस शेयरसँगै हकप्रद जारी गर्दा बजारमा हाइड्रो क्षेत्रमा थप आकर्षण देखिँदै आएको छ । तर, यहीबीचमा हाइड्रोपावरको हकप्रद जारी गर्न नदिने हल्ला चलिरहेको छ । यद्यपि नियामक निकाय विद्युत् नियमन आयोगले अहिलेसम्म यसबारे केही निर्णय गरिसकेको भने छैन ।
बजारले कति धान्ला ?
नियामक निकायबाट यसरी निरन्तर प्रहार भइरहँदा पनि शेयर बजारले भने दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । कहिले परिसूचक त कहिले कारोबारका आधारमा नेप्सेले नयाँ रेकर्ड कायम गरेको अवस्था छ ।
वित्तीय क्षेत्रसम्बन्धी विज्ञ मुक्ति अर्याल बजारको मनोविज्ञान बलियो हुँदा अल्पकालीन रुपमा यी निर्णयहरुले बजारमा थोरै मात्र प्रभाव परेको बताउँछन् । तर, दीर्घकालीन रुपमा भने यसको असर ठूलो हुनसक्ने अर्यालको अनुमान छ ।
शेयर बजारलाई प्रभावित पार्नेगरी आएको यो विज्ञप्ती नियामकको विज्ञप्ती आउनुलाई अर्याल नियोजित मान्छन् । तर, यसरी विज्ञप्ती आउनु स्वभाविक भने नभएको उनको तर्क छ । यस्तो गतिविधिले पुँजीबजारमा ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नरहने अर्याल बताउँछन् ।
यस्ता विषयमा नियामक निकाय पटक पटक बोल्नु भन्दा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरुको बारेमा वेभसाइटमा नियमित अपडेट गर्ने र लगानीकर्ता शिक्षा दिनुपर्नेमा उनको जोड छ ।


दिलिप खड्का
