images
images

सुनसान कञ्चनजङ्घा क्षेत्रमा लयमा फर्किँदै पर्यटन, ३ महिनामा ६५० विदेशी पर्यटकले गरे भ्रमण


  • 377
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    सुनसान कञ्चनजङ्घा क्षेत्रमा लयमा फर्किँदै पर्यटन, ३ महिनामा ६५० विदेशी पर्यटकले गरे भ्रमण

    काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

    कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको छ सय ५० जना बाह्य पर्यटकले अवलोकन गरेको बताए । 

    त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजङ्घा क्षेत्रको अवलोकन गरेको भनिएतापनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ । यस क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ । अहिले दास्रो याम सुरु हुने समय भएको छ ।

    गत वर्ष ४ सय ३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए । गत वर्षका तुलनामा चालु आवमा २ सय ११ बाह्य पर्यटक वृद्धि भएको परिषद्को तथ्याङ्कले जनाएको छ । विस्तारै पर्यटकको आगमनसँगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र विस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।

    कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । विस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ ।

    फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ७ करोड रुपैयाँभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चलनमा छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटरदेखि चार हजार ५ सय मिटर उचाइमा १ करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाख रुपैयाँदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ । पहिल्लो समयमा पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल सञ्चालक उत्साहित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए ।

    २०७६/०७७ सालमा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएका हुन् । कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा विसं २०५६ मा पुग्न सकिन्छ ।

    २०५६ सालमा ७ सय ९९ विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ । २०५७ सालमा ८ सय ७३ विदेशी पर्यटक आएका छन् भने २०५७ देखि २०७७ सम्म ११ हजार १ सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ ।

    कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्ने कञ्चनजङ्घा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

    काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

     


    images

    Logo