काठमाडौं । नेपालमा भारतीय पर्यटक बढाउन होटल सङ्घ नेपाल (हान) ले भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । यही मार्च ३ देखि ७ तारिखसम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हानले जनाएको छ ।
कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीहरूको उपस्थिति रहेको थियो । यो गर्मीयाममा नेपालमा भारतीय पर्यटकको सङ्ख्या दोब्बरले बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको हानले जनाएको छ ।
हानका अध्यक्ष विनायक शाहले सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्ता दिए । उनले पर्यटकलाई नेपालका मौलिक खानाहरू खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए ।
कार्यक्रममा भारतीय पर्यटन व्यवसायीहरूको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरूले दुई देशीय पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमको अझ बढी महत्त्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताएका छन् ।


