काठमाडौं । नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगन्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको हो । परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिष्णु ढकालले बताए ।
खासै प्रयोगमा नआएको नेपालगन्जको वाटर पार्क नामक पोखरीलाई मोटर बोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटर पार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।
मोटर बोट चलाउन कम्पनीले करिब २ करोड खर्चिएको ढकाल बताए । व्यावसायिक रूपमा बोट सञ्चालनको तयारी गरेको कम्पनीले वाटर पार्कमा मोटर बोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता गरेको छ ।
कति लाग्छ शुल्क?
पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।


