काठमाडौं । शेयर बजारमा उच्च गिरावट आएपछि शुक्रबार नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गरायो । फोरमको नवनिर्वाचित टिमले अर्थमन्त्रीलाई भेटेर राष्ट्र बैंकको १२ करोड शेयर कर्जाको सीमाका कारण बजार तीव्र रुपमा घटेको भन्दै त्यो व्यवस्थालाई हटाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
फोरमको ध्यानाकर्षणपछि अर्थमन्त्री शर्माले शेयर बजारलाई प्रभाव पार्नेगरी कुनै पनि नीति कार्यान्वयनमा आउन नसक्ने भन्दै लगानीकर्तालाई आश्वस्त पारेका छन् । यसले लगानीकर्तालाई केही राहत महशुस भएको छ ।
तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने शेयर कर्जाको सीमामा परिवतर्तन गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट रुपमा बताइसकेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यक्रममा अधिकारीले राष्ट्र बैंकले गरेको यो व्यवस्था मार्जिन प्रकृतिको कर्जामा मात्रै लागु हुने भएको भन्दै यो व्यवस्थाको बचाउ गरेका छन् ।
यसको अर्थ शेयर धितोमा १२ करोडभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था लागु हुने छैन । तर, शेयर किन्ने प्रयोजनकै लागि चाहिँ सोभन्दा बढी कर्जा लिन पाइने छैन । उनको यो भनाइकै कारण पछिल्लो दिन शेयर बजारमा उच्च गिरावट आइरहेको छ ।
यद्यपि शेयर बजारमा जानकारहरु बजारमा अहिले भइरहेको गिरावट अस्वभाविक भएको टिप्पणी गरिरहेका छन् । १२ करोडको सीमाले बजारलाई ठूलो असर नगर्ने भए पनि यसलाई देखाएर शेयर बजार घटाउने चलखेल गरिएको आरोप समेत लगाइरहेका छन् । यद्यपि लगानीकर्ताहरु अहिले पनि बजारप्रति विश्वास गर्न सकिरहेका छैनन् । लगानीकर्ताको अविश्वासकै कारण नेप्से ३ हजारको मनोवैैज्ञानिकक विन्दुबाट तल झरिसकेको छ । ३ हजार २ सय भन्दा माथि पुगेको नेप्से ३ हजारभन्दा तल झर्दैगर्दा सर्पोर्टका कयौं विन्दुहरु असफल साबित भइसकेका छन् ।
शुक्रबार अर्थमन्त्रीले उक्त आश्वासनपछि भने लगानीकर्ताहरुले केही राहत महशुस गरेका छन् । लगातार ७ दिनदेखि घटिरहेको बजार र अर्थमन्त्रीको आश्वासनका कारण आइतबारको कारोबारमा भने लगानीकर्ताले राहतको सास फेर्नसक्ने विश्लेषकहरुको अनुमान छ ।