काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा मागिएको छ । नियोजितरुपमा सेयर बजारलाई घटाउने नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा मागिएको हो ।
उनको राजीनामा सेयर बजार लगानीकर्ताहरुको समुहले मागेको हो । केही समयदेखि आन्दोलनमा सरिक पुँजी बजार सुधार संघर्ष समितिले गर्भनर अधिकारीको राजीनामा मागेको हो । यस समितिको संयोजक रामकृष्ण ढकाल रहेका छन् ।
विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरु राष्ट्र बैंकले लिएको हुनाले समग्रग पुँजी बजार अघि बढ्न नसकेको संघर्ष समितिको निश्कर्ष रहेको छ । यही निश्कर्षलाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै समितिले गभर्नरको राजीनामा मागेको हो ।
आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई समेत राष्ट्र बैंकको बर्तमान नेतृत्वले अप्ठेरो बनाएको समेत संघर्ष समितिको आरोप रहेको छ । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि रकमको सीमा तोकिएको थिएन ।
४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको भन्दै तत्कालै नीति परिमार्जन गर्नुपर्ने समेत उनीहरुको माग रहेको छ ।


