काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले शेयर बजार घटेको सन्दर्भमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन नगरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेश गरिएको विनियोजन अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
विनियोजन अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा सांसद प्रेम सुवालले अर्थमन्त्रीले ठूलाबडाको स्वार्थको लागि पुँजीबजार घटबढ गराउन अर्थमन्त्रीले भूमिका खेलेको आरोप लगाएका थिए । उनले कसको फाइदाको लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गरेको भन्ने प्रश्न समेत गरेका थिए ।
जवाफमा शर्माले आन्तरिक घोटालाको विषयमा पूर्व न्यायााधीशको नेतृत्वमा छानबिन भइरहेको भन्दै भिष्मराज ढुंगानाको छानबिनबारे संसदलाई जानकारी गरराएका थिए । गभर्नरलाई भने आफूले फोन नै नगरेको उनको दाबी छ । ‘मैले गभर्नरलाई फोन गरेको छैन,’ शर्माले भने, ‘बाहिर केही समाचार आए होलान्, त्यो गलत हो ।’


