काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
सञ्चय कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले ‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाए राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए । उनले भने ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ । साथै उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे ।
सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे बताइएको छ ।
सामाजिक सुरक्षा योजना अन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ । सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु. २ लाख प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु. ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ ।


