काठमाडौँ । नेपाल क्लीयरिङ हाउस लिमिटेडको एनसीएचएल आइपीएस प्रणालीबाट हुने कारोबारका लागि समय थपिएको छ । एनसीएचएलले असोज ४ गते सोमबारदेखि लागु हुने गरि कारोबारको समय थपेको छ ।
अब नेपाल क्लीयरिङ हाउसको आइपीएस प्रणालीमा ३ बजेसम्म कारोबार हुने भएको छ । ग्राहकको विहान ९ देखि ३ बजेसम्म आएका भुक्तानी आवेदन सोही दिन फर्छ्यौट हुने भएको छ ।
आइतबार र विहीबार नेपाली मुद्राको भुक्तानी फर्छ्यौट हुनेछ भने सोमबारदेखि विहीबारसम्म विदेशि मुद्राको फर्छ्यौट हुनेछ । सोही दिन भुक्तानी आवेदन दिएकाहरुको फर्छ्यौट अर्का दिन गर्ने व्यवस्था यथावत् राखिएको छ ।
साढे ३ बजेसम्म भुक्तानी आवेदन परेको बैंकको ट्रेजरी बिल सोही दिन भुक्तानी हुने भएको छ । त्यस्तै, शुक्रबार साँढे १२ बजेसम्म भुक्तानी आवेदन दिएका ग्राहकहरुको कारोबार सोही दिन हुनेछ ।
एनसीएचएलमा अहिले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, एनपीआइ–कर्पोरेट पे लगायतको भुक्तानी सेवा पाइन्छ । नेपालका सबै बैंकहरु, नेपाल राष्ट्र बैंक एनसीएचएलको एसोसीयट सदस्य रहेको जनाइएको छ ।


