काठमाडौँ । भदौ ३१ गतेदेखि बजेट होलिडेमा गएको सरकारले चार दिनमा ५ अर्ब ७७ करोड रुपैँया राजस्व संकलन गरेकोछ । चार दिनमा दुई दिन सरकारी बिदा भएपनि सरकारले उक्त रकम राजस्व संकलन गरेको हो ।
जेठमा अध्यादेश मार्फत आएको बजेटको संसदमा पेश भएको प्रतिस्थापन विधेयक पास नभएपछि सरकार बजेट विहीन भएको थियो । अध्यादेशमार्फत आएको विधेयक संसदमा पेश भएको ६० दिनभित्र पास हुनुपर्ने संबैधानिक व्यबस्था रहेको छ । अन्यथा स्वत निष्क्रिय हुन्छ ।
बजेट निष्क्रिय भएपछि बेखर्चि भएको सरकारको राजस्व संकलन जारी रहेको थियो । कर, गैर कर तथा अन्य आम्दानीबाट सरकारले उक्त राजस्व संकलन गरेको हो ।
बजेट होलिडेको पहिलो दिन अर्थात भदौ ३१ गते ३ अर्ब ९० करोड रुपैँया बराबरको राजस्व संकलन भएको छ । त्यस्तै, असोज १ गते १ अर्ब ७६ करोड रुपैँया, शनिबार १ करोड १८ लाख रुपैँया, आइतबार ८ करोड २३ लाख रुपैँया राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आइतबार संविधान दिवसको सार्वजनिक विदा रहेको थियो ।
३१ गते देखि वजेटविहीन भएको सरकारको खर्च नगन्य मात्रामा देखिएको छ । सरकारले ४ दिनमा १८ करोड ४७ लाख रुपैँया खर्च गरेको छ । चालु र पुँजीगततर्फ सरकारले उक्त रकम खर्च गरेको हो ।
३१ गते १७ करोड ७७ लाख रुपैँया चालु खर्च गरेको सरकारले सोही दिन ४७ लाख रुपैँया पुँजीगत खर्च गरेको छ । १ गते सरकारको ७ लाख चालु र १४ लाख रुपैँया पुँजीगत खर्च भएको छ । आइतबार सरकारले २ लाख रुपैँयामात्र चालु खर्च गरेको छ ।
लक्ष्यको १५ प्रतिशत राजस्व संकलन
चालु आर्थिक वर्षमा १६ खर्ब ४७ अर्ब खर्च गर्ने सरकारको लक्ष्यमा बजेट होलिडेले असर पार्ने देखिएको छ । औशत १ अर्ब रुपैँया खर्च गरेको सरकारले अहिलेसम्म ८९ अर्ब रुपैँया खर्च गरेको छ । यो लक्ष्यको ५.४६ प्रतिशत हो । यस्तै, चालु तर्फ ५.८३, पुँजीगततर्फ ०.६ र वित्तीय व्यबस्थापनतर्फ १३.८२ प्रतिशत सरकारले खर्च गरेको छ ।
सरकारको खर्च सन्तोषजनक नदेखिएपनि राजस्व संकलनमा सन्तोषजनक स्थिति रहेको देखिएको छ । १२ खर्ब रुपैँया राजस्व संकलनको लक्ष्य राखेको सरकारले अहिलेसम्म १ खर्ब ८६ अर्ब रुपैँया राजस्व उठाएको छ । यो लक्ष्यको १५.३५ प्रतिशत रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।


