काठमाडौं । विशाल बजार कम्पनीको शेयरमा आज निकै चलखेल भएको छ । अघिल्लो दिन ७ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर बिहीबार पहिलो केही मिनेटमा नै सकारात्मक सर्किट लागेर ८ हजार २ सय ८ रुपैयाँ पुगेको थियो भने त्यसको केही मिनेटमा नै सो कम्पनीको शेयरमूल्य घट्दै नकारात्मक सर्किट लागनी ६ हजार ७ सय १६ रुपैयाँमा कारोबार भएको छ । यसरी हेर्दा बजार खुलेको पहिलो आधा घण्टामा नै सो कम्पनीको शेयर मूल्यमा २० प्रतिशतको खेल भएको हो ।
सर्वाधिक मूल्यमा सो कम्पनीको ४ हजार कित्ताभन्दा बढीको कारोबार भएको थियो । बिहीबारको कारोबारको पहिलो घण्टामा सो कम्पनीको शेयर करिब ६ करोड मूल्य बराबरको कारोबार भईसकेको छ । पहिलो घण्टाको समाप्तिको अवस्थामा आईपुग्दा सो कम्पनीको शेयर नकारात्मक सर्किटसहित अर्थात् ६ हजार ७ सय १६ रुपैयाँमा समेत बिक्री चाप अधिक रहेको छ भने खरिदचाप शून्य छ ।
बिहीबार बजार खुलेको पहिलो केही मिनेटसम्म विशाल बजार कम्पनीलाई सुनकै अण्डा पार्ने कुखुराको रुपमा हेर्ने र सो कम्पनीको शेयर कहिल्यै नघट्ने मानसिकतामा रहेका लगानीकर्ताहरुको मनमा भने ढ्याङ्ग्रो ठोकिन पुगेको छ । सो कम्पनीको शेयर खरिद गर्न चाहने र शेयर भएका तर बिक्री गर्न चाहनेमा अन्योलता छाएको छ । यसका लागि भने लगानीकर्तालाई राम्रोसँग कम्पनीको अवस्थाका बारेमा जानकारी हुनु जरुरी छ ।
विशाल बजार कम्पनी कस्तो कम्पनी हो ?
विशाल बजार कम्पनी एक विवादित कम्पनी हो । सरकारी जग्गाको प्रयोग गरी व्यावसायिक कार्य गर्ने प्रयोजनले स्थापना भएको सो कम्पनीमा नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी एवं नेशनल ट्रेडिङ कर्पोरेशनको ३४ प्रतिशत शेयर हिस्सा रहेको छ । पब्लिक कम्पनीका रुपमा दर्ता भई २०४१ सालदेखि नै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको सो कम्पनीको शेयर पुँजी करिब ५ करोड रहेको छ भने कम्पनीमा ८६९ शेयर सदस्य रहेका छन् ।
विशाल बजार कम्पनीको विवाद लामो समयदेखि चल्दै आएको छ । सरकारी जग्गाको उपयोग गरिएतापनि त्यसको कुनै मूल्याङ्कन नगरिएकोमा पाटन उच्च अदालत र सर्वोच्च अदालतले समेत नेपाल सरकारको ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कायम गर्नुपर्ने आदेश गरिसकेको छ यद्यपि कम्पनीले पछिल्लो समय जारी वित्तीय विवरणमा चुक्ता पुँजी भनी ४ करोड ९१ लाख ४० हजार मात्रै रहेको देखाइएको छ ।
विशाल बजार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड २५ लाख खुद नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीको रिजर्भमा ७९ करोड २६ लाख रहेको छ । सोही विवरणमा सो कम्पनीको प्रतिशेयर आम्दानी २५० रुपैयाँ हुने देखिन्छ भने प्रतिशेयर नेटवर्थ ७०० भन्दा बढी रहेको देखिन्छ यद्यपि सर्वोच्च अदालतको फैसलाबमोजिम कम्पनीको शेयरमा ३ करोड ९६ हजार कित्ता कायम गरिने हो भने सो कम्पनीको प्रतिशेयर नेटवर्थ निकै कम हुन सक्ने एवं प्रतिशेयर आम्दानी ३ रुपैयाँ हाराहारीमा मात्रै हुने देखिन्छ । लगानीकर्ताले पछिल्लो समयको वित्तीय विवरणमात्रै हेरेर लगानी गर्ने लगानीकर्ताहरु सिधै मारमा पर्न सक्ने देखिन्छ । लगानीकर्ताले यी विविध अवस्थालाई मध्यनजर गरी लगानी गर्नु उपयुक्त हुनेछ ।


