काठमाडौं । स्वार्थ बाझिनेगरी सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोपमा नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथिको जाँचबुझ सकिएको छ । मन्त्रिपरिषद्द्वारा गठित जाँचबुझ समितिले मंगलबार सो प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।
अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले उक्त छानविन प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएका हुन् । उक्त प्रतिवेदनमा विवाहित छोरी र बुहारीको नाममा समेत शेयर खरिद भएको पाइएको र शेयर खरिद गर्न ढुंगानाले आफ्नै खाताबाट रकम उपलब्ध समेत गराएको देखिएकोले यसमा यो खरिदबाट स्वार्थ बाझिएको देखिने उल्लेख गरिएको स्रोतले जनाएको छ ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययनले दोषी देखाएपछि ढुंगानालाई बर्खास्त गर्न सरकारलाई बाटो खुल्नेछ ।


