images
images

कोरोना महामारीले मध्यभोटेकोशीको शेयर बिक्री रोकियो, आईपीओ पनि प्रभावित हुने


  • 560
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    कोरोना महामारीले मध्यभोटेकोशीको शेयर बिक्री रोकियो, आईपीओ पनि प्रभावित हुने

    काठमाडौं । कोरोना महामारीको कारण प्राथमिक बजारमा शेयर निष्कासन रोकिएको छ । महामारीका कारण  मध्य भोटेकोशी आयोजनाको शेयर निष्कासन अवरुद्ध भएको हो । 

    मध्य भोटेकोशीले आयोजना प्रभावित तथा स्थानीयवासीलाई शेयर निष्कासन गर्न थालेको थियो । तर, संक्रमणको दर बढ्दै जाँदा निष्कासन रोकिएको हो । कोरोनाको समयमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएको भन्दै सो कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको जनाएको छ। 

    अध्य भोटेकोशीले वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको थियो ।  सोबमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले यही वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बुधबारको आग्रहअनुसार आजदेखि शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तथा अन्य विभिन्न छ कम्पनीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धक तोकेको थियो ।

    कूल ६० लाख कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५र ६ का बासिन्दाका लागि कूल १८ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    निषेधाज्ञा जारी रहेको अवस्थामा शेयर बिक्री गर्नु मनासिव नभएकाले तत्कालका लागि स्थगित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र बिक्री प्रबन्धकका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले आज संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ । 

    कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा भने आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।

    स्थानीयवासी तथा आयोजना प्रभावितलाई जारी गरेको शेयर निष्कासन ढिलाई भएसँगै यसले सर्वसाधारण शेयरधनीलाई दिने शेयरमा समेत ढिलाई हुने भएको छ । सो कम्पनीले स्थानीयवासीको शेयर बाँडफाँटलगत्तै आईपीओ जारी गर्ने योजना बनाएको थियो । 


    images

    Logo