काठमाडौं । धितोपत्र बोर्डमा सुचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेले आग्रह गरेको छ ।
बिहिबार एक सुचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
उक्त सुचना अनुसार असोज मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क बुझाउनु पर्नेछ ।
धितोपत्र नवीकरण शुल्क चुक्ता पूँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीहरुले वार्षिक ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी भएका कम्पनीहरुले १ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी डिबेन्चर र म्युचुअल फण्ड ९सामुहिक लगानी कोषको नवीकरण शुल्क ५० करोडसम्म चुक्ता पूँजी भएकोले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएकोले ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।
सो कम्पनीहरुले तोकिएको समयमा नविकरण शुल्क नबुझाएमा नविकरण शुल्कको १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकरण पनि स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले नेप्सेको ग्लोवल आइएमई बैंकमा रहेको ७५०१०१००००७७५ खाता नम्बरमा शुल्क बुझाउन सक्नेछन् ।



