images
images

हाइड्राेपावर कम्पनीकाे शेयरमूल्य : तीन रुपैयाँ कमाउनेकाे ७ सय बढी, घाटामा जानेकाे २ सय हाराहारी

तेस्रो त्रैमासमा हाइड्रोपावर कम्पनीको यस्तो देखियो रिहर्सल


  • 5.2K
    SHARES
  • २०७८ बैशाख २४ गते शुक्रबार

    हाइड्राेपावर कम्पनीकाे शेयरमूल्य  : तीन रुपैयाँ कमाउनेकाे ७ सय बढी, घाटामा जानेकाे २ सय हाराहारी

    काठमाडौं । दोस्रो बजारमा यतिबेला ४० वटा हाइड्रोपावर कम्पनी छन् । प्रत्येक त्रैमास सकिएको १ महिनाभित्र अघिल्लो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने नियामकीय बाध्यताबीच यतिबेला ११ कम्पनीको वित्तीय विवरण सार्वजनिक भएको छ । तर, प्रकाशित वित्तीय विवरणले पछिल्लो त्रैमासमा अधिकांश कम्पनीहरुको प्रगति सन्तोषजनक नभएको देखाएको छ । 

    ११ वटा कम्पनीमध्ये अरुण काबेली जलविद्युुत् कम्पनीको नाफाको अवस्था मात्रै सन्तोषजनक देखिएको छ । सो कम्पनीको नाफा ४ करोड ५३ लाख रुपैयाँबाट घटेर २० करोड ३ लाख रुपैयाँमा पुगेको छ । विद्युत् बिक्रीबाट गरेको आम्दानी बढेपछि कम्पनीको नाफा बढको हो । 

    बाँकी १० मध्ये ७ कम्पनी नाफामा छन् भने ३ कम्पनी नोक्सानमा छन् । नाफामा रहेका सबै कम्पनीको नाफा घटेको छ । नोक्सानमा रहेका कम्पनीमध्ये आँखुखोला जलविद्युत् कम्पनीको नोक्सान घटेको छ भने बाँकी कम्पनीको नोक्सान बढेको छ । 

    कुन कम्पनीको कस्तो अवस्था ? 

      चुक्ता पुँजी नाफा (यो वर्ष) नाफा (गत वर्ष)
    माउन्टेन इनर्जी नेपाल १ अर्ब ९६ करोड ४ करोड ९९ लाख ९६ हजार ५ करोड ५२ लाख ९१ हजार
    शिवश्री हाइड्रोपावर १ अर्ब ४३ करोड प्राप्त नभएको प्राप्त नभएको
    दिव्यश्वरी हाइड्रोपावर २६ करोड ४० लाख (१ करोड ८० लाख) (१ करोड ६३ लाख)
    पाँचथर पावर कम्पनी ९६ करोड २५ लाख २ करोड ९५ लाख ६ करोड ६४ लाख
    बरुण हाइड्रोपावर २६ करोड ७९ लाख ५२ लाख ७२ हजार १ करोड १७ लाख
    रैराङ हाइड्रोपावर ५६ करोड ३ करोड ३ करोड ८५ लाख ३ करोड ८९ लाख
    आँखुखोला हाइड्रोपावर ८० करोड (२ करोड ७७ लाख) (५ करोड ८० लाख)
    ङादी पावर कम्पनी  ५८ करोड ९१ लाख २ करोड ८० लाख ४ करोड ६९ लाख
    अरुण काबेली १ अर्ब ५८ करोड २० करोड ३२ लाख ४ करोड ५३ लाख
    घलेम्दी हाइड्रोपावर  ५५ करोड (२ करोड ४५ लाख) (९९ लाख ८५ हजार)
    रिडी हाइड्रोपावर ५८ करोड ५५ लाख २ करोड १४ लाख ३ करोड ९ लाख

    हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने कम्पनीमध्ये सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी माउन्टेन इनर्जी नेपाल हो । बिहीबार यो कम्पनीको शेयर ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । १ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको यो कम्पनीले तेस्रो त्रैमाससम्म करिब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो करिब २.८३ रुपैयाँ हो । 

    अहिले यो कम्पनीले २ वटा जलवद्युत् आयोजना निर्माण गरेको छ । ५ मेगावाटको तादीखोला जलविद्युत् आयोजना २०६९ देखि सञ्चालनमा आएको छ । ४२ मेगावाटको मित्रीखोला जलविद्युत् आयोजना भो निर्माणको अन्तिम चरणमा छ । यसको व्यवसायिक उत्पादन मिति (सीओडी) तय भइसकेको छैन । व्यवसायिक उत्पादन थालेपछि यसको आम्दानी र नाफा बढ्नेछ । यही आशमा लगानीकर्ताले यो कम्पनीको शेयरलाई धेरै मूल्य तिरेका हुन् । 

    १ अर्ब ४३ करोड चुक्ता पुँजी भएको शिवश्रीले यो त्रैमासमा नाफा नोक्सानसम्बन्धी विवरण प्रकाशित गरेको छैन । कम्पनीले सिन्धुपाल्चोकस्थित २२)२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको निर्माण सम्पन्न भएर परीक्षण उत्पादनसमेत भइसकेको कम्पनीले जनाएको । व्यवसायिक उत्पादनको लागि विद्युत् प्राधिकरणले समय तोक्ने प्रतीक्षा गरेर कम्पनी बसिरहेको छ । बजारमा यो कम्पनीको शेयर २ सय ३९ रुपैयाँमा कारोबार भइरहेको छ । 

    २६करोड ४० लाख चुक्ता पुँजी भएको दिव्यश्वरी हाइड्रोपावर यो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ नोक्सानमा छ । संखुवासभाको सवाखोलामा ४ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरि सञ्चालन आइसकेको अवस्थामा पनि दिव्यश्वरी नोक्सानमा गएको देखिन्छ । यो कम्पनीले अर्को आयोजना निर्माण सुरु गरेको समेत छैन । यसको बजारमूल्य १ सय ६६ रुपैयाँ छ ।  

    उता, पाँचथरमा १४.९ मेगावाटको मेवाखोला ए जलविद्युत् आयोजना सञ्चालन गरिरहेको पाँचथर पावर कम्पनीले ९ महिनामा २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा करिब १ तिहाई मात्रै हो । 

    प्रसारण लाइन नबनेर अघिल्लो वर्षसम्म आम्दानी गर्न नसकेको जनाएको यो वर्ष खोलामा पानीको बहाव कम भएको कारण विद्युत् उत्पादन कम भएको जनाएको छ । आगामी समयमा यसमा सुधार हुने कम्पनीको अनुमान छ । सो कम्पनीको शेयरको बजारमूल्य ३ सय १५ रुपैयाँ रहेको छ । 

    वरुण हाइड्रोपावरले ५.४ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना निर्माण गरी २०६८ सालदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन भइरहेको छ । यद्यपि यो वर्ष वरुणको नाफा आधा भन्दा बढीले घटेको छ । प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको कम्पनीको प्रष्टिकरण छ । सो कम्पनीको शेयर लगानीकर्ताले २ सय ७९ रुपैयाँमा कारोबार गरेका छन् । 

    रैराङखोला र इवाखोला जलविद्युत आयोजना निर्माण गरेको रैराङ हाइड्रोपावरको नाफा ३ करोड ८५ लाखमा सीमित भएको छ । सो कम्पनीको बजारमूल्य ४ सय ३९ रुपैयाँ छ । रैराङखोलाको क्षमता ०.५० मेगावाट र इवाखोलाको क्षमता ९.९ मेगावाट रहेको छ । अहिलेको आम्दानीलाई रैराङले सामान्य अवस्थामा भएको आम्दानी भनेको छ । भविष्यमा कुनै जलविद्युत् आयोजना फेरि बनाउने तयारी सो कम्पनीको छ । 

    विगतदेखिनै नोक्सानीमा रहेको देखिएको आँखुखोला जलविद्युत् कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिसकेको छ । वित्तीय लागतका कारण सो कम्पनी घाटामा देखिएको हो । कम्पनीको बजारमूल्य १ सय ७२ रुपैयाँ रहेको छ । 

    ङादी पावर कम्पनीको नाफा पनि यो वर्ष घटेको छ । अघिल्लो वर्ष ४ करोड ६९ लाख नाफा कमाएको सो कम्पनीको नाफा यो वर्षको ९ महिनामा २ करोड ८० लाखमा सीमित भएको छ । सिउरीखोला जलविद्युत् आयोजनाको सूचीकृत दर गत मंसिरदेखि सकिएकोले यसको आम्दानी घटेको प्रष्टिकरण कम्पनीले दिएको छ । यो कम्पनीको पछिल्लो बजारमूल्य २ सय ८८ रुपैयाँ छ । 

    उता घलेम्दी हाइड्रा्पावरको खुद नोक्सान १ करोड रुपैयाँबाट बढेर करिब २ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सञ्चालन गरेको घलेम्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको ५ मेगावाटको विद्युत् समयमा प्रसारण लाइन नबन्दा २० प्रतिशत मात्रै उत्पादन हुन सकेको र सोही कारणले नाफा घट्न पुगेको कम्पनीको भनाई छ । यो कम्पनीको पछिल्लो बजारमूल्य १ सय ८० रुपैयाँ छ । 

    रिडी हाइड्रोपावरको नाफा पनि यो वर्ष घटेर ३ करोड ९ लाखबाट २ करोड १४ लाखमा झरको छ । रिडीले यो वर्ष विद्युत् बिक्रीबाट दोब्बर आम्दानी गरे पनि गैर सञ्चालन खर्च बढ्दा नाफा बढ्न नसकेको हो । यो शेयरको मूल्यलाई लगानीकर्ताले पछिल्लोपटक २ सय ५२ रुपैयाँ तिरेका छन् । 

    मूल्य मात्रै धेरै 

    प्रकाशित कम्पनीको वित्तीय विवरण हेर्दा भविष्यमा राम्रो उत्पादन हुने आशा गर्नसक्ने केही कम्पनी बाहेक अधिकांशको बजारमूल्य अस्वभाविक देखिन्छ । विद्युत् उत्पादन भएर आम्दानी समेत सुरु भइसकेका कम्पनी समेत घाटामा देखिनुले यस्ता कम्पनीको मूल्य ओभरप्राइस भइसकेको जस्ता देखिन्छ । दिव्यश्वरी, आँखुखोला, घलेम्दी लगायतका कम्पनीहरु यस्तो अवस्थामा छन् । 

    केही आयोजना भने निर्माण तयारीको अन्तिम चरणमा रहेको र भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने आशामा लगानीकर्ताले उच्च मूल्य तिरिरहेको देखिन्छ । 


    images

    Logo