दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव ७ किलोमिटर कालोपत्र गरिएको जनाएको छ ।
कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७.३ किलोमिटर सडक कालोपत्र भएको थियो । गत आर्थिक बर्षमा १०.५ किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए । उनका अनुसार ४६ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५.२, २० किलोमिटर चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किलोमिटर नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किलोमिटर नाला निर्माण भएको छ ।
गत आर्थिक बर्षमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक बर्षमा २७.४ किलोमिटर कच्ची सडक, ८८.२५ किलोमिटर ग्राभेल, ३७.३ किलोमिटर कालोपत्र, ८९.२ किलोमिटर चौडाइ विस्तार र ११२.२५ किलोमिटर नाली निर्माण गरिएको थियो ।
कार्यालयले गत आर्थिक बर्षमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिनुभयो । तीमध्ये दश सडक र चारवटा पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताए । सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए।
सो अवधिमा सडकतर्फ रु एक अर्ब २५ करोड २९ लाख ८८ हजार बजेट रहेकामा रु एक अर्ब सात करोड पाँच लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ रु २१ करोड ४२ लाख ७४ हजार बजेट रहेकामा रु १९ करोड ५७ लाख चार हजार बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सहरी विकास तथा भवनतर्फ रु ४० लाख तीन हजार बजेट रहेकामा रु ३० लाख तीन हजार, पुँजीगत अनुसन्धान तथा परामर्शमा रु एक करोड १५ लाख ६० हजार बजेट रहेकामा रु ६० लाख १२ हजार, जनता आवास कार्यक्रममा रु दश लाख बजेट रहेकामा रु ६६ हजार मात्रै बजेट खर्च भएको छ ।
विभिन्न सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा रु ३२ लाख छ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा रु दुई करोड ७५ लाख ४६ हजार, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा रु एक करोड दुई लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि रु ५३ लाख ७६ हजार खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा रु एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा रु दुई करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा रु ८० लाख ६९ हजार खर्च भएको छ ।
भीमगोफा कृषि सडकमा रु ७१ लाख छ हजार, सालिग्राम कोरिडोर लोकमार्गमा रु नौ करोड एक लाख ७६ हजार, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा रु ६५ लाख ८४ हजार, बुल्दीखोला पुल शेरा रामथुक्कीमा रु ६६ लाख २९ हजार, ब्याङ्दीखोला कल्भर्ट योजनामा रु ३२ लाख ४१ हजार, खहरेखोला सडक पुलका लागि रु दुई करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि रु २५ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए।


