images
images

महिला लघुवित्तको गिरावट सुरु, उचालिएर शेयर किन्नेहरु डुब्दै, किन जोखिमपूर्ण छ लगानी ?


  • 510
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    महिला लघुवित्तको गिरावट सुरु, उचालिएर शेयर किन्नेहरु डुब्दै, किन जोखिमपूर्ण छ लगानी ?

    काठमाडौं । महिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । आईपीओ जारी भई कारोबार सुरु भएदेखि नै निरन्तर वृद्धि हुँदै आएको सो लघुवित्तको शेयर ५ हजार टेकेर फर्किएको हो ।

    आइतबार सो लघुवित्तको शेयर १० प्रतिशत अर्थात् ५ सय ३ रुपैयाँले घटेर ४ हजार ५ सय २७ रुपैयाँमा झरेको छ । तर नकारात्मक सर्किट लाग्दा पनि बजारमा सो शेयर बेच्नेको निकै ठूलो चाप थियो । यो चापले लगानीकर्ताहरु नाफा बुक गर्नतिर लागेको प्रष्ट हुन्छ । 

    शेयर बजारमा महिला लघुवित्तको कारोबार सुरु भएको आज ३४ औं दिन हो । ३३ दिनसम्मको कारोबारमा सो लघुवित्तले कहिलै मूल्य गुमाउनु परेन । कारोबार नै कम हुँदा सुरुमा मूल्य बढ्न नसके पनि मूल्य ७ सय ६५ मूल्य पुगेपछि भने निरन्तर सकारात्मक सर्किट लाग्दै आएको थियो । मूल्य निरन्तर बढ्दै गएपछि कारोबार गर्न चाहनेहरु पनि उच्चतम मूल्यको प्रतीक्षा गर्दै आएका थिए । यसले मूल्य झनै उच्च बनाएको थियो । 

    महँगोमा शेयर बेच्ने डुब्दै

    मूल्य घटेसँगै उच्च मूल्यमा शेयर किन्नेहरु भने डुब्ने भएका छन् । बजारको अवस्था हेर्दा सो कम्पनीको मूल्य घट्ने रफ्तार केही दिन रहन सक्छ । 

    महिला लघुवित्तले एक साता अघि सार्वजनिक गरेको वित्तीय विवरणमा आफ्नो प्रतिशेयर आम्दानी ८५ रुपैयाँ देखाएको थियो । लघुवित्तको उत्साहजनक रिपोर्टसँगै लगानीकर्ताहरु झनै उचालिएर लगानी गर्न तम्सिएका थिए । 

    यो आम्दानीका आधारमा अहिलेको मूल्य आम्दानी अनुपात ५० भन्दा माथि हो । यो अनुपात करिब ५३ गुणा हो । अर्थात्, महिला लघुवित्तबाट १ रुपैयाँ प्रतिफल लिन लगानीकर्ताले ५३ रुपैयाँ लगानी गरिरहेको अवस्था हो । बिहीबारको कारोबारका आधारमा यस्तो अनुपात ५९ पुगेको थियो । 

    बढ्दो बजारबीच अहिले बजारमा मूल्य आम्दानी अनुपात निकै कम भएका कम्पनीहरु छन् । लघुवित्तमै पनि यस्ता कम्पनी प्रशस्त छन् । त्यसो त लघुवित्त कम्पनीले २० प्रतिशत भन्दा बढी लाभांश दिँदा लाभांशको ५० प्रतिशत अन्य जगेडा कोषमा राख्नुपर्ने भएकोले लघुवित्तको पीई अनुपात कम भए पनि प्रतिफल त्योभन्दा कम हुन सक्छ । 


    images

    Logo