काठमाडौं । लगातार ३३ दिनसम्म सकारात्मक सर्किट प्रायःमा चलेको महिला लघुवित्तको शेयर कारोबार आइतबारको बजारमा सबैभन्दा धेरै भयो । बिहीबारको बजारमा ५०३० रुपैयाँ प्रतिकित्ता कारोबार भई बन्द भएको सो कम्पनीको शेयर मूल्य आइतबारको पहिला केही मिनेटमा बढेर ५ हजार ४ सय बढी पुगेको भएतापनि त्यसपछि क्रमशः घट्दै गएर अन्तिममा ४५२७ रुपैयाँमा पुगेको हो ।
केही समयअघि आईपीओ जारी गरेको महिला लघुवित्तको शेयर बजारमा ४ लाख कित्ता मात्रै जारी गरिएको थियो । हाल १० करोड चुक्ता पुँजी रहेको सो लघुवित्तले जारी पुँजीको ४० प्रतिशत शेयर आईपीओका रुपमा बिक्री गरेको थियो ।
नेपाली शेयर बजारमा कर्नरिङको ठुलो भूमिका रहन्छ । खासगरी थोरै चुक्ता पुँजी र थोरै शेयरमूल्य भएका कम्पनीहरुलाई निश्चित व्यक्ति र समूहले आफ्नो कब्जामा पार्ने गरी कर्नरिङ गरिएको पाइन्छ । त्यसरी खास व्यक्ति वा समूहले कर्नरिङ गरिएको कम्पनीको शेयर मूल्य धेरै लचकदार हुने गर्दछ र कुनै समय एकदमै बढी मूल्यमा समेत पुग्न सक्दछ भन्ने बजारको विगतले देखाउँछ । त्यसैले महिला लघुवित्तको हकमा कर्नरिङ कस्तो भएको छ त भन्ने चासो स्वाभाविक छ ।
तर साना एवं थोरै चुक्ता पुँजी भएको कम्पनीहरुको शेयरमा जुन प्रकारको कर्नरिङ हुन्थ्यो, महिला लघुवित्तको आइतबारको कारोबारमा त्यो अवस्था रहेको पाइँदैन । ५० हजार बढी कित्ता कारोबार भएको दिनमा सबैजसो ब्रोकरबाट सो कम्पनीको शेयर खरिद गरिएको पाइन्छ । सबैभन्दा बढी ब्रोकर नं. ४५ ले २८३० कित्ता शेयर खरिद गरेको देखिन्छ भने त्यसपछि ब्रोकर नं. ४७ ले २७३० कित्ता शेयर खरिद गरेको देखिन्छ । यसबाहेक २ हजार कित्ताभन्दा बढी खरिद गर्नेमा ब्रोकर नं. ४८, २३८० र ब्रोकर नं. ३८, २२०५ कित्ता रहेका छन् । खरिद गर्ने ब्रोकरहरुमध्ये सबैभन्दा कम ५४ नं. ब्रोकरले १० कित्तामात्रै शेयर खरिद गरेको छ ।
आइतबारको फ्लोरसिटको अवस्थालाई हेर्दा महिला लघुवित्तको शेयरमा कुनै खास समूह एवं कम्पनीको कर्नरिङ रहेको पाइँदैन । मूल्य अत्यधिक भएकाले पनि त्यस्तो चाहना नदेखिएको हुन सक्दछ । खास व्यक्ति, समूह र कम्पनीले त्यसरी कर्नरिङ नगरेको शेयरमा भने स्वाभाविक आरोह र अवरोह हुँदै जाने सम्भावना रहन्छ । बजारको अवस्था र सो कम्पनीको वित्तीय अवस्थालाई हेर्दा कम्पनीको शेयरमूल्यमा केही दिन सामान्य गिरावट हुँदै मूल्य स्थिर हुन जाने देखिन्छ ।


