भक्तपुर । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा आन्तरिक राजस्व कार्यालय भक्तपुरले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्ममा गत आर्थिक वर्षको भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो ।
कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५० करोड ९६ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धि हो ।
कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक महिनासम्म) मा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।
कार्यालयले चालू आवको प्रथम चौमासिकमा गतवर्ष भन्दा धेरै कर संकलन भए पनि उक्त रकम तोकिएको लक्ष्यको ७७ प्रतिशत मात्रै हो ।
चालू आर्थिक वर्ष २०८१/८२ मा गत आर्थिक वर्ष २०८०/८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।
कार्यालयका अनुसार कार्यालयमा करदाताको जम्मा सङ्ख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँच हजार ६ सय ६५ रहेको छ । यस आव साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँच सय ८१ करदाताहरू दर्ता भएका छन् ।


