काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट ३ अर्ब ६० करोडको गलैंचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा ३ अर्ब ६० करोड ८ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको गलैंचा नेपालबाट बाहिरिएको हो ।
सो अवधिमा १ लाख २५ हजार २६९ वर्ग मिटर गलैंचा नेपालबाट अन्य देशहरुमा निर्यात भएको छ ।
गलैंचा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुको शीर्ष स्थानमै पर्ने भएतापनि नेपालमा गलैंचा अन्य देशबाट आयातसमेत भएको छ । ४ महिनाको अवधिमा १४ लाख ४८ हजार रुपैयाँ बराबर रकममा १ हजार ७७४ वर्ग मिटर गलैंचा नेपाल भित्रिएको तथ्यांकमा जनाइएको छ । उक्त निर्यातबापत ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षभरिमा नेपालले १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो ।
नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


