काठमाडौं । विगतका तीन आर्थिक वर्षमा नेपालमा धानचामलको आयात निरन्तर घट्दै गइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा र त्यसको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा धान चामलको आयात निरन्तर घट्दै गएको देखिएको हो ।
आर्थिक वर्ष २०७८/२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । त्यसपछिको वर्षमा धानचामलको आयातमा १० अर्ब ९२ करोड रुपैयाँले कमी आएको तथ्यांकमा देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो ।
सोही क्रमलाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा पनि धानचामलको आयात घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँले कम हो ।
धानको उत्पादन बढ्यो
आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।
तर, धानको उत्पादन बढ्दा मात्रै धानचामलको आयात घटेको भने होइन । भातमात्रै नखाएर अन्य खाद्यान्नको उपभोग बढेका कारण पनि उत्पादन बढेको हुनसक्ने जानकारहरुले बताउँदै आएका छन् ।


