images
images

५ महिनामा करिब ३० प्रतिशत बजेट खर्च, पुँजीगत खर्चको अवस्था नाजुक


  • 337
    SHARES
  • २०८१ मंसिर ३० गते आइतबार

    ५ महिनामा करिब ३० प्रतिशत बजेट खर्च, पुँजीगत खर्चको अवस्था नाजुक

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा करिब ३० प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–८२ को साउनदेखि मंसि महिनासम्ममा २९.८९ प्रतिशत बजेट खर्च भएको हो । 

    सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबर रकमको बजेट ल्याएको थियो । त्यसमध्ये मंसिर मसान्तसम्म कुल विनियोजित बजेटको २९.८९ प्रतिशत अर्थात् ५ खर्ब ५६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । 

    सो अवधिमा चालू खर्चका लागि छुट्याइएको बजेटको ३१.८७ प्रतिशत खर्च भएको छ । चालू खर्चका लागि यस आर्थिक वर्षमा ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये हालसम्म ३ खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ । 

    ५ महिनाको अवधिमा चालू खर्चको लागि छुट्याइएको बजेटको कार्यान्वयनमा उल्लेख्य प्रगति देखिएको भएतापनि पुँजीगत खर्चको अवस्था भने नाजुक देखिएको छ । सो अवधिमा ११.५८ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट छुट्याएको थियो । जसमध्ये हालसम्म ४० अर्ब रुपैयाँ मात्र खर्च भएको छ । 

    राजस्व संकलन लक्ष्यको २८.०५ प्रतिशत

    मंसिर मसान्तसम्ममा सरकारले लक्ष्यको २८.०५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये हालसम्म ३ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भएको छ । 

    सो अवधिमा कर राजस्व शिर्षकमा ३ खर्ब ६१ अर्ब रुपैयाँ र गैर कर राजस्व शिर्षकमा ३६ अर्ब रुपैयाा संकलन भएको कार्यालयको तथ्यांकमा जनाइएको छ । 


    images

    Logo