काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो ।
आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिएको छ । गत आवको ५ महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएको तथ्यांकमा देखिन्छ ।
भन्सार विभागका अनुसार पहिलो ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशत धेरै हो । यस वर्ष भारतले वनस्पति तेलको आयात सहज बनाएसँगै नेपालबाट हुने निर्यात बढ्न थालेको हो ।
अघिल्लो आवको यसै अवधिमा निर्यात ६३ अर्ब २० करोड रुपैयाँ मात्र रहेको थियो । मंसिरसम्म नेपालको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको देखिन्छ । व्यापार घाटा अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले मात्र विस्तार भएको छ ।
आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै हुँदा व्यापार घाटा धेरै नबढेको हो । अघिल्लो आवको मंसिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ । निर्यातको हिस्सा १०.०२ प्रतिशत रहेको छ । निर्यातको हिस्सा केही बढेको देखिन्छ ।


