images
images

राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदै, किन सहभागी हुने जनगणनामा ?


  • 749
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदै, किन सहभागी हुने जनगणनामा ?

    काठमाडौं । राष्ट्रिय जनगणना आजबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनगणना सुरु गरेर आजदेखि १२ औं राष्ट्रिय जनगणनाको सुरुवात गरिँदैछ । केन्द्रीय तथ्यांकले आजदेखि देशभर जनगणना गर्न लागेको हो । जनगणनाका लागि देशभर ४० हजार जना गणक फिल्डमा खटिइसकेका छन् । त्यस्तै ८ हजार सुपरिवेक्षक समेत खटाइएको छ । 

    जनगणनाका लागि एउटा परिवारका लागि झन्डै ८० वटा प्रश्न निर्धारण गरिएको छ । यसका लागि  झन्डै ७० लाख घरपरिवारसम्म सूचीकरण समेत गरिएको छ । ती घरहरुमा पुगेर गणकले परिवारिक तथ्यांक संकलन गर्नेछन् । एउटा गणकले झण्डै डे९ सय घरमा तथ्यांक संकलन गर्नुपर्नेगरी कार्यविभाजन गरिएको छ । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ ।

    के हो जनगणना ? 

    जनगणना देशका नागरिकहरुको गणना गर्ने एउटा प्रणाली हो । यसबाट संकलित तथ्यांकको आधारमा राष्ट्रिय नीति नियमको तर्जुमा हुन्छ । प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा प्राप्त हुने जनसंख्या, जातजाती, भाषा, संस्कृति, जीवनशैली लगायतको तथ्यांकका आधारमा सरकारले राजनीतिक विभाजन, स्रोतहरुको बाँडफाँट लगायतका नीतिगत निर्णयहरु लिने गर्छ । 

    नेपालमा जनगणनाको पहिलो इतिहास विक्रम संवत् १९६८ सालमा सुरु भएको पाइन्छ। यद्यपि नेपालको पहिलो आधुनिक २००९ र २०११ सालमा सम्पन्न भएको थियो । यो जनगणनामा करिब ८० लाख जनसंख्याको रहेको थियो । १० वर्षअघि अर्थात् विक्रम संबत् २०६८  मा गरिएको जनगणनामा करिब २ करोड ६४ लाख जनसंख्या रहेको देखिएको थियो । 

    यो तथ्यांकलाई नै देशले आफ्नो राष्ट्रिय तथ्यांकको प्रमुख आधार मान्छ । जनगणनाले दिने तथ्यांकका आधारमा नै देशमा क्षेत्रगत रुपमा बजेटको बाँडफाँट हुने, निर्वाचन क्षेत्र निर्धारण हुने, लोपोन्मुख क्षेत्रको संरक्षण गर्ने लगायतका नीतिगत निर्णयहरु गरिन्छ । 

    जनगणनामा सहभागी भएर वा नभएर कुनै पनि व्यक्तिलाई प्रत्यक्ष लाभ वा हानी केही पनि हुँदैन । तर, आफू बसोबास गरेको क्षेत्र र समुदायका लागि यसले ठूलो महत्व राख्छ । जनगणनामा सहभागी हुने गणकलाई सूचना नदिनु, सूचना दिए पनि गलत सूचना दिनु वा सूचना संकलनमा अवरोध पुर्याउनुलाई कसुर मानिने व्यवस्था गरिएको छ । त्यसैले तथ्यांक विभागले यसलाई ऐच्छिक भन्दा पनि अनिवार्य विषय मानेको छ । 

    विश्वमा जनगणनाको दुईवटा प्रणाली छन् । एउटालाई डी जुरे भनिन्छ भने अर्कोलाई डी फ्याक्टो भनिन्छ । डी जुरे सिस्टमले अक्सर बसोबास गर्ने ठाउँको आधारमा जनगणनाको तथ्यांक लिइन्छ । यस्तो प्रणालीमा तथ्यांक संकलन एक दिनभन्दा बढी समय लगाएर गरिन्छ । 

    डी फ्याक्टो सिस्टममा अन्तर्गत भने एकै रातमा सबै गणना कार्य सम्पन्न हुन्छ । जनगणना गर्ने रात जो जुन ठाउँमा बसेको छ, सोही ठाउँ नै अर्को जनगणनासम्मको लागि उसको ठाउँको रुपमा गणना हुन्छ । यी दुवै प्रणालीका आफ्नै विशेषताहरु छन् । यद्यपि नेपालले एकै रातमा सबै गणना नसक्ने भएकोले अक्सर बसोबासका आधारमा तथ्यांक संकलन गरिन्छ । 

    यस्तो छ राष्ट्रिय जनगणनाको महत्व

    १. आवधिक योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न एवं उक्त नीति, योजना तथा कार्यक्रमको  अनुगमन र मूल्यांकनको लागि आवश्यक आधारभूत तथ्यांक उपलब्ध गर्न वा गराउन।

    २. संघीय र प्रदेश निर्वाचन क्षेत्रको संख्या तथा क्षेत्र निर्धारणको आधार तयार गरिदिन ।

    ३. लोककल्याणका लागि नीति, योजना र कार्यक्रम तयार गरी अघि बढ्ने आधार जनगणनाले दिने हुनाले राष्ट्र निर्माणको महान अभियानका रुपमा यसलाई लिन ।

    ४. संविधानमा रहेका मौलिकहकहरुको कार्यन्वयन गर्न, सोको मूल्यांकन गर्न एवं सामाजिक सुरक्षाका कार्यक्रमहरु पहिचान गर्ने आधार निर्माण गर्न ।

    ५. संघ, प्रदेश र स्थानीय गरी तिनवटै तहका सरकारहरुलाई बित्तिय श्रोतको बाँडफाँट एवं अन्तरसरकारी वित्तीय हस्तान्तरण लगायत कार्यका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन ।

    ६. निश्चित समयको जनसांख्यिक प्रबृत्ति, बिशेषता, बनावट आदिका बारेमा जानकारी लिन वा दिन ।

    ७. आम नागरिक, पेशाकर्मी, योजनाकार, विज्ञ, नीति निर्मातालाई आधिकारिक र आधारभूत तथ्यांक उपलब्ध गराउन ।

    ८. विभिन्न तथ्यांकीय सर्भेक्षणहरुको लागि ढाँचा उपलब्ध गराउन ।

    ९. लैंगिक एवम् सामाजिक समावेशी विकासको लागि आवश्यक सूचना उपलब्ध गराउन ।

    १०. दिगो विकास लक्ष्य एवं अन्तराष्ट्रिय स्तरवाट किटान गरी नेपालले प्रतिवद्धता जनाएका विकासका  लक्ष्यहरु मापन गर्न प्रयोग गर्न ।


    images

    Logo