काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले १ बराबर ०.८८४५१६८ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।
इन्स्योरेन्सले सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५ सय ७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन ५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


