काठमाडौं । सोमबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २ हजार ७ सय ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १९ स्क्रिपको ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको २ करोड ३७ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०७ प्रतिशत घटेको छ।
सोमबार ९७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभनदा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इजर्नी डेभलपमेन्ट रहेका छन् । त्यस्तै, यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।


