काठमाडौं । बुधबारशेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २ हजार ७ सय ११ दशमलव ४५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको १ करोड ९१ लाख कित्ता शेयर किनबेच भएको छ ।
बुधबार नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १ सय १३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ। हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावरको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।


