काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंंकले घटेर २ हजार ६ सय ९९ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ९ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ८६ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ९५ करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.५८ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै साहस उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।


