काठमाडौं । एक महिना नहुँदै नेपाल राष्ट्र बैंकले ब्याजदरसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ । राष्ट्र बैंकले कात्तिक २ गते जारी गरेको निर्देशन सच्याएर नयाँ व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले ल्याएको नयाँ नियम अनुसार अब बैंक तथा वित्तीय संस्थाले ब्याजदर निर्धारण गर्दा अधिकतम ब्याजदर भएका एउटै प्रकृतिका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको आधारमा ब्याज बढाउन पाउनेछन् ।
उदाहरणको लागि अघिल्लो महिना ९.३६ प्रतिशत ब्याजदर भएका बैंकले यसपछक ०.९३६ प्रतिशत ब्याजदर बढाउन पाउने व्यवस्था रहेकोमा सोभन्दा कम ब्याज भएका बैंकहरुले पनि सो अधिकतम तहसम्म ब्याजदर बढाउन पाउँछन् ।
अहिले अधिकांश बैंकको मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत रहेको छ । तर, सरकारी बैंक र केही निजी बैंकले भने सोभन्दा कम ब्याजदर निर्धारण गरेका छन् । ब्याजदर कम भएका बैंकले १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था कायम रहँदा यसले कम ब्याजदर भएका बैंकको निक्षेप अरु बैंकमा पलायन हुने देखेपछि राष्ट्र बैंकले निर्देशन सच्याएको हो ।
अब वाणिज्य बैंकहरु सबैले १०.२९६ प्रतिशतसम्म ब्याजदर पुर्याउन पाउँछन् ।
उता राष्ट्र बैंकले बैंकले बोलकबोलमार्फत् संकलन गरिने निक्षेपको ब्याजदरमा प्रकाशित ब्याजभन्दा बढी राख्न नपाइने ब्यावस्थालाई कायम राखेको छ । तर, निक्षेपको नवीकरणका लागि भने प्रकाशित ब्याजदर भन्दा ०.१० प्रतिशत बढी ब्याजदर दिनसक्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाका कारण एउटा बैंकमा परिपक्व भएको निक्षेप अर्को बैंकमा सार्ने जोखिम हटेको छ ।


