काठमाडौं । शेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ । यो दिन नेप्से परिसूचक २७.४७ अंकले बढेर २ हजार ६सय ७३ दशमलव ३१ विन्दुुमा पुगेको हो । बजारमा आज ५ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बजारमा सबै उपसूचकहरु उकालो लागेको आजको बजारमा सबैभन्दा बढी वृद्धि व्यापारमूलक समूहमा देखिएको छ । सो उपसूचकमा ५.७९ प्रतिशत वृद्धि भएको छ । बोटलर्स नेपाल, साल्ट ट्रेडिङ लगायतको शेयरमूल्य उच्च रुपमा बढेकोले यो उछाल देखिएको हो । उत्पादनमूलक र अन्य समूहको परिसूचकमा पनि साढे २ प्रतिशत हाराहारीको वृद्धि देखिएको छ ।
बजारमा मंगलबार १ सय ८४ कम्पनीको कारोबार हुँदा १ सय ४५ कम्पनीको मूल्य बढेको छ । २१ कम्पनीको मूल्य घट्दा १८ कम्पनीको मूल्य बराबर छ ।
बजारमा आज बोटलर्स नेपालको मूल्य १० प्रतिशतले बढेर १० हजारको विन्दु टेकेको छ । रुरु, युनाइटेड मोदी, गुह्वेश्वरी मर्चेन्ट, समता लघुवित्तको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । विशालबजार कम्पनीको शेयरमूल्य भने आज पनि १० प्रतिशतले घटेको छ ।
खराब रिपोर्ट देखाउनेकै मूल्यमा वृद्धि
शेयरमूल्य बढ्ने उच्च १० कम्पनीमध्ये २ वटा कम्पनीले मंगलबार आफ्नो वित्तीय विवरण प्रकाशित गरेका थिए । सो विवरण अनुसार एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट फण्डले डेढ रुपैयाँ नाफा देखाएको थियो ।
त्यस्तै, बोटलर्स नेपालको नाफा बढेको भए पनि बिक्री ह्वात्तै घटेको देखिएको छ । तर, बजारमा एनआरएनको मूल्य ५४ रुपैयाँले बढेर ६ सय ८० पुग्यो भने बोटलर्स नेपाल सकारात्मक सर्किट लागेर फाइभ डिजिट क्लब अर्थात् १० हजारभन्दा बढी मूल्य हुने कम्पनीमा उक्लिएको छ ।


